
काठमाडौं, असार २८- सानो कुरामा भुइँमा लडिबुडी गर्ने, झर्किने, रुने, सामान फाल्ने, वा चिच्याउने बालबालिकाको व्यवहार धेरै अभिभावकका लागि चिन्ताको विषय बन्न थालेको छ। यस्ता गतिविधि सामान्य लागे पनि पछिल्लो समय बालबालिकामा अत्यधिक रिस, आक्रोश र चिडचिडाहट देखिन थालेको पाइएको छ।
मनोविज्ञहरूका अनुसार यस्तो व्यवहार स्वाभाविक त हो, तर समयमै बुझेर सन्तुलन मिलाउन नसक्दा यसले गम्भीर मनोवैज्ञानिक असर पार्न सक्छ।
रिस आउनु बालबालिकाको विकासको हिस्सा
बालबालिकामा देखिने रिस वा आक्रोश उनीहरूको भावनात्मक र मानसिक विकासको स्वाभाविक प्रक्रिया भएको मनोविज्ञहरू बताउँछन्। ‘प्रिफ्रन्टल कोर्टेक्स’ नामक मस्तिष्कको भाग पूर्णरूपमा नबनेकाले बालबालिकाले आफूभित्रको भावना व्यक्त गर्न कठीन महसुस गर्छन्। त्यसैले उनीहरू चिच्याउने, रुनु वा फालफाल गर्ने शैलीमा प्रतिक्रिया जनाउँछन्।
रिस आउनुका प्रमुख कारणहरू
बाल मनोविज्ञ डा. नम्रता भट्टराईका अनुसार, भोक लाग्नु, निद्रा नपुग्नु, माया नपाउनु वा चाहेको कुरा नपाउँदा बालबालिकामा तनाव र रिसको प्रतिक्रिया देखिन्छ। उनका अनुसार, पछिल्लो समय मोबाइल, टिभी र भिडियो गेमजस्ता प्रविधिले पनि बालबालिकाको संवेदनशीलता बढाएको छ।
‘हिंसात्मक सामग्री हेर्ने, चिड्याउने भिडियोहरू हेर्ने, नक्कल गर्ने प्रवृत्तिले उनीहरूको व्यवहार आक्रामक बन्न सक्छ,’ उनले भनिन्।
अभिभावककै कारण पनि हुन सक्छ समस्या
बालबालिकाको मनोविकासमा पारिवारिक वातावरणको गहिरो प्रभाव रहने भएकाले बारम्बार झगडा हुने, गाली गर्ने वा बालबालिकालाई बेवास्ता गरिने घरमा हुर्किएका बच्चामा आक्रोशको प्रवृत्ति देखिन्छ।
‘आफ्नो भावना प्रकट गर्ने सहज माध्यम नभएपछि बच्चाले रिसको रूप लिन्छ,’ मनोविज्ञ डा. भट्टराई भन्छिन्, ‘कतिपय अभिभावकले रिसलाई नसम्झिने र उल्टो थप दबाब दिने गर्छन्, जसले समस्या बढाउँछ।’
रिस नियन्त्रणका उपाय
विशेषज्ञहरूका अनुसार बालबालिकाको रिस नियन्त्रण गर्न उनीहरूको भावना बुझ्ने, संवाद गर्ने, साथ दिने र सकारात्मक व्यवहार सिकाउने प्रयास गर्नु जरुरी हुन्छ। बच्चाले चाहेको कुरा तत्काल नपाउँदा किन नपाइने भनेर सम्झाउनुपर्ने र तिनको ध्यान अन्यत्र मोड्ने प्रयास गर्नुपर्ने मनोपरामर्शदाताहरूको सुझाव छ।
त्यस्तै, बालबालिकालाई नियमित दिनचर्या, पर्याप्त निद्रा र स्वास्थ्यकर आहार दिनु जरुरी छ। साथै, बच्चा जिस्क्याउने वा डराउने परिवेशबाट जोगाउनुपर्ने उनीहरूको सुझाव छ।
बालबालिकाको सानो रिसलाई समयमै सम्बोधन नगरे गम्भीर समस्या बन्नसक्ने चेतावनी विज्ञहरूले दिएका छन्। त्यसैले बच्चाको व्यवहार परिवर्तनलाई सामान्य ठान्नु हुँदैन, बरु माया, समझदारी र सहायताबाट सम्बोधन गर्नु आवश्यक छ।