Swasthya Awaj
काठमाडौँमा भेटियो घा*तक डेंगु

जुम्ला, २०८२ भाद्र १- साउन २८ मा एक २४ वर्षीया स्वस्थ युवतीको डेंगु सङ्क्रमणका कारण मृत्यु भएपछि काठमाडौँमा डेंगु संक्रमणप्रति चासो बढेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ कि मृतकमा प्रमुख जोखिम संकेतक जस्तै वृद्धावस्था, दीर्घ रोग, कमजोर रोग प्रतिरोधात्मक क्षमता वा प्लेटेलेट्समा तीव्र गिरावट थिएन। यस घटनाले डेंगुको नयाँ र घातक रूपको सम्भावना माथि प्रश्न उठाएको छ।

अस्पतालका विशेषज्ञहरूले चेतावनी दिएका छन् कि सामान्यतया स्वस्थ युवा डेंगु सङ्क्रमित भएर पनि जटिल अवस्था वा मृत्युको उच्च जोखिममा हुँदैनन्। तर यस घटना देखाउँदै, डेंगु संक्रमणप्रति समाजको दृष्टिकोण फेरबदल आवश्यक रहेको बताइएको छ। विगत वर्षहरूमा काठमाडौँमा डेंगुलाई ‘सामान्य रुघाखोकी’ सरह हेर्ने प्रवृत्ति देखिएको थियो, जसले संक्रमण फैलिन र जटिल अवस्था देखिन सक्ने सम्भावना बढाएको छ।

TB

विशेषज्ञहरूले ‘डेंगुको वार्निङ सङ्केत’को प्रचार-प्रसार बढाउन सुझाव दिएका छन्। घरमै बसिरहेका सङ्क्रमितहरूले बान्ता, पेट दुखाइ, अत्यधिक आलस्य, नाक वा गिजाबाट रगत बग्ने जस्ता लक्षणलाई ध्यान दिनु जरुरी रहेको बताइएको छ। अस्पतालमा जाँच गर्दा प्लेटेलेट्सको गिरावट, कलेजोको आकारमा परिवर्तन, पेट वा छातीमा पानी जम्ने जस्ता संकेत देखिन सक्छ।

स्वास्थ्य मन्त्रालयका तथ्याङ्क अनुसार काठमाडौँमा हाल डेंगुका बिरामी बिस्तारै बढ्दै छन्। लामखुट्टे नियन्त्रण कार्यक्रम कमजोर हुनु, वर्षाको केही दिनको ब्रेक र दसैँको समय नजिकिँदा जोखिम अझ बढ्ने स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन्।

विशेषज्ञहरूले भनेका छन्, “ज्येष्ठ नागरिक, दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर वा गर्भवती मात्र होइन, सामान्य स्वस्थ युवा पनि डेंगुको जटिल असरमा पर्न सक्छ। अहिलेको घटना त्यसको स्पष्ट उदाहरण हो।”

डेंगु नियन्त्रण र सतर्कताका लागि स्वास्थ्य निकायले समुदायमा डेंगुको प्रारम्भिक लक्षण र घरमै देखिने वार्निङ सङ्केतको व्यापक जानकारी दिने आवश्यकतामा जोड दिएका छन्। यसका साथै लामखुट्टे नियन्त्रण, सरसफाइ र संक्रमितको समयमै उपचारलाई प्राथमिकता दिनुपर्ने बताइएको छ।
 

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update