Swasthya Awaj
रौतहटको प्रादेशिक अस्पतालमा युवकमाथि कुटपिट, आइसियुमा देखिएको गतिविधिबारे प्रश्न

रौतहट, २०८२ भाद्र १- गौरस्थित प्रादेशिक अस्पतालमा उपचाररत आफन्तलाई भेट्न गएका एक युवकमाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ। घटनाले अस्पतालको सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ।

सत्यम कुमार पाण्डे चार दिनदेखि आइसियुमा भर्ना भएका बुबालाई खाना खुवाउन गएका बेला असामान्य गतिविधि देखेका थिए। उनका अनुसार आइसियु कक्ष लामो समय बन्द रहेपछि ढोका ढक्ढकाउँदा चिकित्सक र नर्स आपत्तिजनक अवस्थामा बाहिर निस्केका थिए।

TB

पाण्डेले तत्कालै अस्पताल प्रमुख डा. मुरारी ठाकुर, व्यवस्थापन समिति अध्यक्ष अनवर हासमी र प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए। तर साउन २६ गते उनलाई केही व्यक्तिले नियन्त्रणमा लिएर कुटपिट गरेको आरोप छ। ती व्यक्तिहरू चिकित्सकसँग नजिक सम्बन्ध राख्ने भएको पाण्डेको दाबी छ। उनले आफूमाथि निरन्तर धम्की मिलिरहेको र असुरक्षित महसुस भइरहेको बताएका छन्।

घटनाप्रति अस्पताल प्रशासनले कुनै प्रतिक्रिया दिएको छैन। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक त्यसबेला बिदामा रहेको कारण जानकारी नभएको बताएका छन्।

स्थानीयहरूले भने यस घटनाले अस्पतालभित्रै पारदर्शिता, आचारसंहिता र सेवाग्राहीको सुरक्षाबारे गम्भीर चिन्ता उत्पन्न भएको टिप्पणी गरेका छन्।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  २२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update