Swasthya Awaj
डब्लुएचओद्वारा नेपाललाई रुबेला मुक्त राष्ट्रको मान्यता

काठमाडौँ, २०८२ भदौ २- नेपालले रुबेला रोग पूर्ण रूपमा निवारण गर्न सफल भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को प्रमाणित घोषणा अनुसार अब नेपालमा रुबेलाको स्थानीय सङ्क्रमण देखिँदैन ।

रुबेला, जसलाई ‘जर्मन दादुरा’ पनि भनिन्छ, अत्यधिक सङ्क्रामक भाइरसजन्य रोग हो, जसले विशेष गरी गर्भवती महिलामा गम्भीर असर पुर्‍याउँछ । गर्भपतन, मृत शिशु जन्मिने वा दीर्घकालीन अपाङ्गता हुने खतरा यस रोगसँग जोडिएको हुन्छ । तर सुरक्षित खोपका कारण यसलाई नियन्त्रण र निवारण सम्भव हुन्छ ।

TB

नेपालले सन् २०१२ देखि ९ महिना देखि १५ वर्ष उमेर समूहलाई लक्षित गर्दै रुबेला खोप अभियान सुरु गरेको थियो । त्यसयता खोपलाई नियमित तालिकामा समावेश गर्दै कवरेज विस्तार गरिएको हो । हाल देशभर ९५ प्रतिशतभन्दा बढी बालबालिकाले रुबेला खोपको पहिलो मात्रा पाइसकेका छन् ।

यो उपलब्धिमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय समुदायको निरन्तर सहयोग निर्णायक भएको स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल रुबेला निवारण गर्ने छैटौँ देश बनेको छ । यसअघि श्रीलंका, भुटान, माल्दिभ्स, उत्तर कोरिया र टिमोर–लेस्टेले सफलता पाइसकेका थिए ।

नेपालले दादुरा र रुबेला दुवै निवारण गर्ने लक्ष्य सन् २०२६ सम्म पूरा गर्ने योजना बनाएको थियो । रुबेला निवारण भइसकेकाले अब दादुरा नियन्त्रणतर्फ थप ध्यान दिनुपर्ने देखिन्छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार यो सफलता बालबालिकाको दीर्घकालीन स्वास्थ्य सुरक्षामा ठूलो फड्को हो, जसले भविष्यमा रुबेला सम्बन्धी जन्मजात जटिलता घटाउने छ ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  २२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update