
काठमाडौँ, २०८२ भदौ २- एआई प्रविधिको प्रयोगबाट वैज्ञानिकहरूले दुई नयाँ सम्भावित एन्टिबायोटिक औषधि पहिचान गरेका छन्, जसले औषधि–प्रतिरोधी गोनोरिया र एमआरएसए (मेथिसिलिन-रेजिस्टेन्ट) जस्ता जोखिमपूर्ण ब्याक्टेरियालाई नियन्त्रण गर्न सक्ने सम्भावना देखाएको छ।
यो अनुसन्धान अमेरिकाको मैसाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का वैज्ञानिक टोलीले सञ्चालन गरेको हो। एआईमार्फत अणु संरचनालाई नयाँ ढङ्गले जोडेर तयार गरिएका यी कम्पाउन्डहरू प्रयोगशालामा मात्र नभई संक्रमित जनावरमा पनि सफल परीक्षण गरिएको जनाइएको छ।
अनुसन्धानकर्ताहरूका अनुसार यी औषधिहरू अझै मानिसमा प्रयोग गर्न तयार छैनन्। आगामी एकदेखि दुई वर्षसम्म परिष्करण प्रक्रिया अघि बढाइनेछ र त्यसपछि मात्र मानव परीक्षण सम्भव हुने अपेक्षा गरिएको छ।
एआईले एन्टिबायोटिक अनुसन्धानमा नयाँ मार्ग खोलेको वैज्ञानिकहरूको बुझाइ छ। पछिल्ला दशकमा एन्टिबायोटिक प्रतिरोध तीव्र गतिमा बढ्दै गएको र नयाँ औषधि विकास सुस्त बनेको अवस्थामा यो प्रगति महत्त्वपूर्ण मानिएको छ। विश्वभर हरेक वर्ष करिब १० लाख मानिस एन्टिबायोटिक–प्रतिरोधी संक्रमणका कारण ज्यान गुमाइरहेको तथ्यांकले देखाउँछ।
शोधकर्ताले ३ करोडभन्दा बढी रासायनिक संरचनाको अध्ययन गरेका थिए। त्यस क्रममा मानिसका लागि हानिकारक हुने, पहिले नै प्रयोगमा रहेका एन्टिबायोटिकसँग अत्यधिक मिल्दोजुल्दो देखिने वा औषधि नभई अन्य प्रयोजनका पदार्थलाई एआई प्रणालीले अलग गरेको थियो। अन्ततः छनोट गरिएका संरचनामध्ये दुई सम्भावित एन्टिबायोटिक प्रभावकारी देखिएका हुन्।
तर विशेषज्ञहरूले यसलाई अझै प्रारम्भिक उपलब्धि मात्रै भएको जनाएका छन्। नयाँ एन्टिबायोटिक उत्पादन भए पनि यसको प्रयोगलाई सीमित राख्नुपर्ने चुनौती रहनेछ, जसले उत्पादन तथा लगानीमा आर्थिक जोखिम बढाउनेछ।
यद्यपि, वैज्ञानिकहरूलाई विश्वास छ कि एआईको सहयोगले भविष्यमा एन्टिबायोटिक विकासलाई छिटो, किफायती र प्रभावकारी बनाउन सक्नेछ, जसले विश्वव्यापी ‘सुपरबग’ समस्या समाधानतर्फ ठूलो टेवा पुर्याउनेछ।