Swasthya Awaj
टेकु अस्पतालमा २४ वर्षीया युवतीको डेंगुबाट मृत्यु, यो वर्षको पहिलो घटना

काठमाडौँ, २०८२ साउन ३०- डेंगु संक्रमणका कारण काठमाडौंस्थित टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु भएको छ। यो वर्ष नेपालमा डेंगुका कारण भएको पहिलो मृत्यु हो। अस्पताल स्रोतका अनुसार ती युवती मंगलबार साँझ गम्भीर अवस्थासहित भर्ना भएकी थिइन् र आईसीयूमा राखेर उपचार गरिए पनि बुधबार बिहान निधन भयो।

स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तथ्यांकअनुसार अहिलेसम्म देशभर २,९५२ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ। डेंगु हाल ७४ जिल्लामा फैलिएको छ र पछिल्लो सात दिनमै १८० नयाँ संक्रमित थपिएका छन्।

TB

प्रदेशगत विवरणअनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै २९८ संक्रमित छन्। कोशीमा ४७, गण्डकीमा २७, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेशमा १८ र कर्णालीमा ६ जनामा डेंगु पुष्टि भएको छ।

नेपालमा डेंगु पहिलो पटक २००४ मा चितवनमा देखिएको हो। पछिल्ला वर्षहरूमा यो रोग तराई, भित्री मधेश मात्र नभई पहाडी क्षेत्रमा समेत फैलिन थालेको छ। २०२० मा धरान केन्द्रविन्दु बनाउँदै फैलिएको डेंगुले करिब १८ हजारलाई संक्रमित बनाएको थियो भने १२ जनाको ज्यान लिएको थियो। सन् २०२२ मा भने डेंगु ७७ जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित र ८८ जनाको मृत्यु भएको थियो।

विशेषज्ञहरूका अनुसार डेंगु सार्ने एडिस एजिप्टी प्रजातिको लामखुट्टे सफा पानी जम्ने स्थानमा प्रजनन गर्छ। वर्षाको पानी जम्ने गमला, टायर, फालेका बोतल र खाली ड्रम यसका प्रमुख स्रोत हुन्।

चिकित्सकहरूले डेंगुका बिरामीलाई सामान्यतया २-७ दिनसम्म ज्वरो आउने र त्यसपछि २४-४८ घण्टा क्रिटिकल अवस्था हुने चेतावनी दिएका छन्। रक्तस्राव, पेट दुख्ने, श्वासमा समस्या वा रक्तचाप घट्ने जस्ता लक्षण देखिए तत्काल अस्पताल पुग्न सुझाव दिइएको छ।

स्वास्थ्य विज्ञहरूले संक्रमण रोकथामका लागि समुदायस्तरमै पानी जम्ने स्थान खोजी गरी नष्ट गर्नुपर्नेमा जोड दिएका छन्। यही नै डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय मानिन्छ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update