Swasthya Awaj
कोशी प्रदेशले सिंहदरबार वैद्यखानाबाट सिधै आयुर्वेदिक औषधि खरिद गर्ने सम्झौता

विराटनगर, २०८२ भदौ २- कोशी प्रदेश सरकारले सिंहदरबार वैद्यखाना विकास समितिसँग प्रत्यक्ष सम्झौतामार्फत २ करोड २० लाख बराबरका आयुर्वेदिक औषधि किन्ने भएको छ । सरकारी निकायबीचको प्रत्यक्ष खरिद (जीटुजी मोडल) बाट औषधि उपलब्ध गराउने व्यवस्था गर्ने यो देशकै पहिलो उदाहरण हो ।

सोमबार विराटनगरमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री भुपेन्द्र राईको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो । मन्त्रालयतर्फबाट सचिव डा. राधिका थपलिया र वैद्यखानातर्फबाट कार्यकारी निर्देशक डा. प्रदीप केसीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

TB

यस सम्झौताअनुसार कोशी प्रदेशभित्रका अस्पताल र आपूर्ति केन्द्रमार्फत २३ प्रकारका अत्यावश्यक आयुर्वेदिक औषधि वितरण गरिनेछ । बजेट आपूर्ति व्यवस्थापन केन्द्र, जिल्ला आयुर्वेद अस्पताल र संघीय सरकारले उपलब्ध गराएको अनुदानमार्फत जुटाइएको हो ।

स्वास्थ्य मन्त्री राईले आयुर्वेदलाई बलियो बनाउन र जनतालाई भरपर्दो औषधि सहज रूपमा उपलब्ध गराउन यस सम्झौता महत्वपूर्ण हुने बताए । उनले सिंहदरबार वैद्यखानालाई ऐतिहासिक सम्पत्ति ठहर गर्दै टेन्डरको लामो प्रक्रियामा समय खेर फाल्नु नपर्ने उल्लेख गरे ।

सचिव थपलियाले प्रत्यक्ष खरिद गर्दा १८ प्रतिशत छुट प्राप्त हुने बताइन् । उनका अनुसार छुटबाट बाँकी रकम थप औषधि खरिदमा प्रयोग गरिनेछ, जसले सीमित बजेटमै धेरै नागरिकलाई सेवा दिन सहज हुनेछ ।

सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक डा. केसीले कोशी प्रदेशको निर्णयलाई ऐतिहासिक कदम बताए । उनका अनुसार अहिले ५७ प्रकारका औषधि उत्पादन भइरहेका छन् भने आगामी वर्षहरूमा ९० प्रकार पुर्‍याउने योजना छ ।

यो सम्झौताले प्रदेशस्तरमै आयुर्वेद सेवा सुदृढ गर्न, नागरिकलाई गुणस्तरीय औषधि निःशुल्क उपलब्ध गराउन र वैद्यखानाको उत्पादनलाई पुनर्जीवित गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  २२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update