
काठमाडौँ, २०८२ साउन २- मनसुन सुरु भएसँगै स्क्रब टाइफसको संक्रमण देशभर तीव्र गतिमा बढेको छ। स्वास्थ्य सेवा विभागको तथ्याङ्कअनुसार एक महिनामै ५० जिल्लामा १ हजार ४ सयभन्दा बढी बिरामी पहिचान भएका छन्। यो रोग ‘ओरिन्सिया सुसुगामुसी’ नामक ब्याक्टेरियाले हुने गर्छ, जुन मुसामा पाइने साना किराले मानिसलाई टोकेपछि सर्छ।
विशेषज्ञहरूले यसलाई ग्रामीण क्षेत्रमा बढी देखिने रोग मान्छन्। तर सहरी क्षेत्रमा पनि पार्क वा बगैँचामा बस्दा संक्रमण हुने घटना फेला परेका छन्। विशेष गरी खेतबारी, झाडी र गोठमा काम गर्ने, घाँसदाउरा काट्ने वा बस्तुभाउसँग नजिक हुने मानिस बढी जोखिममा रहने देखिएको छ।
स्क्रब टाइफस लागेका बिरामीमा उच्च ज्वरो, टाउको दुखाइ, शरीरमा पीडा, लिम्फ ग्रन्थी सुन्निने र सास फेर्न गाह्रो हुने लक्षण देखिन्छ। सबैभन्दा विशेष चिनारी भनेको किराले टोकेको ठाउँमा देखिने कालो दाग हो।
चिकित्सकहरूले बर्खामा खेत वा झाडीमा जानुपरेमा लामो बाहुला भएको कपडा, पुरै खुट्टा ढाक्ने जुत्ता लगाउन र घर फर्केपछि शरीर राम्ररी जाँच्न सुझाव दिएका छन्। यो रोग मानिसबाट मानिसमा सर्दैन।
गत वर्ष नेपालभर करिब ८ हजारभन्दा बढीमा स्क्रब टाइफस भेटिएको थियो। यद्यपि स्वास्थ्य मन्त्रालयले यसलाई घातक महामारीको रूपमा नलिन आग्रह गर्दै, समयमै परीक्षण र उपचार भए जटिलता कम हुने बताएको छ।
स्क्रब टाइफस के हो ?
यो रोग ‘ओरिन्सिया सुसुगामुसी’ नामक ब्याक्टेरियाका कारण हुन्छ, जुन मुसामा पाइने माइट (सानो किराको लार्भा) को टोकाइबाट मानिसमा सर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन ।
कसरी सर्छ ?
- खेतबारी, झाडी वा घाँसे मैदानमा काम गर्दा
- बस्तुभाउ चराउन लैजाँदा
- दाउरा वा घाँस काट्न जाँदा
- गोठमै जनावरको स्याहारसम्भार गर्दा
- सहरी क्षेत्रका पार्क वा बगैँचामा बस्दा पनि जोखिम रहन्छ ।
लक्षण के-के देखिन्छ ?
- लगातार उच्च ज्वरो
- टाउको र मांसपेशी दुखाइ
- लिम्फ ग्रन्थी सुन्निनु
- सास फेर्न गाह्रो हुनु
- सबैभन्दा महत्वपूर्ण, माइटले टोकेको स्थानमा कालो दाग वा खटिरा देखिनु
कसरी जोगिने ?
- झाडी वा घाँस भएको ठाउँमा जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउने
- लामो जुत्ता लगाउने, खाली खुट्टा नहिँड्ने
- घर फर्केपछि शरीर राम्ररी जाँच गर्ने
- सुत्ने कोठा र गोठ वरिपरि सरसफाइ राख्ने
कहिले अस्पताल जाने ?
ज्वरोसँगै शरीरमा कालो दाग देखिए वा अन्य लक्षण देखा परेमा ढिला नगरी नजिकैको स्वास्थ्य संस्थामा जानुपर्छ । समयमै उपचार भएमा यो रोग निको हुन्छ ।
सरकारको भनाइ
स्वास्थ्य मन्त्रालयका अनुसार स्क्रब टाइफस घातक रोग होइन, तर बेवास्ता गर्दा जटिल हुन सक्छ । जिल्ला अस्पतालदेखि सरुवा रोग अस्पतालसम्म उपचार सुविधा उपलब्ध छ । मनसुनमा खेतबारी, झाडी वा पार्कतिर जानु पर्दा सचेत रहनुहोस् । समयमै सावधानी अपनाउँदा स्क्रब टाइफसबाट जोगिन सकिन्छ ।