
काठमाडौँ, २०८२ श्रावण ७- नेपालमा साउनको सुरुआतसँगै डेंगु संक्रमण तीव्र गतिमा फैलिन थालेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार पछिल्लो एक सातामा मात्रै १५७ जना नयाँ संक्रमित थपिएका छन् भने हालसम्म २ हजार २१३ जनामा संक्रमण पुष्टि भइसकेको छ।
हाल देशका ७३ जिल्लामा डेंगुको असर देखिएको छ। रसुवा, मनाङ, हुम्ला र डोल्पा बाहेक सबै जिल्लामा संक्रमण देखिएको हो।
गण्डकी सबैभन्दा बढी प्रभावित
प्रादेशिक विवरण अनुसार गण्डकी प्रदेशमा सबैभन्दा बढी ६१२ जना संक्रमित भेटिएका छन्। बागमती प्रदेशमा ४८१, कोशीमा ४०२, लुम्बिनीमा ३६७, सुदूरपश्चिममा २७१, कर्णालीमा ४२ र मधेश प्रदेशमा ३८ जना संक्रमित पुष्टि भएका छन्।
एक साताको अवधिमा मात्र गण्डकीमा ६०, लुम्बिनीमा ३६ र बागमतीमा २२ जना नयाँ संक्रमित थपिएका छन्।
कारण : बर्षात, सफा पानी र लामखुट्टे
स्वास्थ्य विज्ञहरूका अनुसार वर्षायाममा लगातार वर्षा हुँदा सफा पानी जम्ने अवस्था बढ्छ, जसले लामखुट्टे प्रजननलाई सहज बनाउँछ। एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस नामका जातबाट सर्ने यो रोग बिहान र साँझ बढी सक्रिय हुने लामखुट्टेले फैलाउने गर्छ।
इडिसिडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार संक्रमण अझै बढ्ने खतरा छ। ‘यो समयमा लामखुट्टे अत्यधिक सक्रिय हुन्छन्, लार्भा पनि सहजै विकास हुन्छ, त्यसैले सर्तकता अति आवश्यक छ’, उनले भनेका छन्।
स्वास्थ्य मन्त्रालयको अभियान
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिनालाई ‘डेंगु सचेतना र नियन्त्रण महिना’का रूपमा मनाउँदै आएको छ। तर, विज्ञहरूले सरकारका कार्यक्रम कागजमै सीमित भएको भन्दै स्थानीय तहदेखि संघसम्म सक्रियता आवश्यक रहेको औंल्याएका छन्।
संक्रमणसँगै जोखिम पनि
डेंगु संक्रमण सर्ने गति र क्षेत्र विस्तारलाई हेर्दा महामारीको रूप लिन सक्ने सम्भावना रहेको चिकित्सकहरूको भनाइ छ। सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार लामखुट्टेको अनुकूलन क्षमता अझ बलियो बन्दै गएकोले संक्रमणको जोखिम बढेको हो।
उनले भनेका छन्, ‘सरकार र नागरिक समाज दुबै बेवास्ता गर्दा डेंगु झनै भयावह बन्न सक्छ, यो अब सामान्य रोग जस्तो भएर सकिँदैन।’
सर्तकता नै बच्ने उपाय
डेंगुबाट बच्न घर वरिपरि सफाइ गर्न, पानी जम्न नदिन, झ्याल/ढोका झुल प्रयोग गर्न, बिहान-साँझ लुगा लगाउँदा शरीर राम्रोसँग ढाक्ने अभ्यास गर्न विज्ञहरूले सुझाव दिएका छन्। डेंगु नियन्त्रणका लागि नागरिक जागरुकता र सरकारी सक्रियता दुवै अनिवार्य देखिएको छ।