Swasthya Awaj
साउन महिना ‘डेंगी सचेतना महिना’को रूपमा मनाइने, राष्ट्रव्यापी अभियान सुरु

काठमाडौं, साउन ३२- सरकारले साउन महिनालाई ‘डेंगी सचेतना महिना’का रूपमा मनाउने घोषणा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार राजधानीमा आयोजित एक समारोहमा डेंगी नियन्त्रणका लागि राष्ट्रिय स्तरको सचेतना अभियान प्रारम्भ भएको जनाए।

डेंगी संक्रमणको जोखिम हरेक वर्ष साउनदेखि कात्तिकसम्म उच्च हुने भएकाले संक्रमणको नियन्त्रणमा जनचेतनाको महत्वपूर्ण भूमिका हुने विश्वासका साथ यो अभियान थालिएको हो। मन्त्री पौडेलका अनुसार डेंगी नियन्त्रणका लागि नागरिक सहभागिता अत्यावश्यक छ, र आगामी चार महिनासम्म सम्पूर्ण जनसमुदायलाई लामखुट्टे र लार्भा नष्ट गर्ने काममा सक्रिय हुन अपिल गरिएको छ।

TB

मन्त्री पौडेलले निर्माण कार्यलाई समेत केही समयका लागि स्थगित गर्न सुझाव दिँदै डेंगी नष्ट गर्ने अभियानलाई प्राथमिकतामा राख्न आग्रह गरे।

स्वास्थ्य मन्त्रालयका तथ्यांक अनुसार चालु आर्थिक वर्षमा नेपालमा ५० हजारभन्दा बढी व्यक्ति डेंगी संक्रमित भइसकेका छन् भने १५ जनाभन्दा बढीको मृत्यु भइसकेको छ। विगत वर्ष २०२४ मा विश्वभर १ करोड ४० लाखभन्दा बढीमा संक्रमण देखिएको र ११ हजारभन्दा बढीको ज्यान गएको बताइएको छ।

स्वास्थ्य सचिव डा. विकास देवकोटाले साउन महिनाभर हरेक शुक्रबार बिहान १० बजेदेखि १० मिनेटसम्म सबै सरकारी कार्यालयहरूमा सरसफाइ अभियान सञ्चालन गरिने जानकारी दिए। यो अभियान कात्तिकसम्म निरन्तर चलाइने छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंकप्रसाद बाराकोटीले डेंगी संक्रमण र मृत्युदर घटाउने दीर्घकालीन योजना अनुसार सन् २०३० भित्र डेंगी पूर्णरूपमा नियन्त्रण गर्ने लक्ष्य रहेको बताए। उनले राष्ट्रिय रणनीति र वर्तमान अवस्थाबारे जानकारी पनि प्रस्तुत गरे।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन (WHO) नेपाल प्रमुख डा. राजेश सम्भाजीराव पाण्डवले नेपाल सरकारको डेंगी नियन्त्रण योजनामा डब्लुएचओको साथ रहने प्रतिबद्धता जनाए।

नेपालमा पहिलोपटक सन् २००४ (विसं २०६१) मा एक विदेशी नागरिकमा डेंगी देखिएको थियो। त्यसपछि २०६३ सालमा चितवनमा व्यापक प्रकोप देखिएको थियो र त्यसयता देशभर डेंगी संक्रमण दोहोरिँदै आएको छ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  २२:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update