
काठमाडौं, असार ३१- नेपालभरका सबै ७७ जिल्लामा बालबालिकाका लागि खोप कार्यक्रम सफलतापूर्वक सञ्चालन भई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । यसले देशको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण प्रगति भएको संकेत गर्छ ।
नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्लामा हालै घोषणा भएसँगै, देशका सबै जिल्लाहरूले अब पूर्णखोप सुनिश्चितता र दिगोपनामा पुग्न सफल भएका छन् । यो उपलब्धि नेपालमा बालबालिका स्वास्थ्य सुरक्षा र खोप कार्यक्रममा देखिएको निरन्तरता र प्रतिबद्धताको प्रतिफल हो ।
परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक लालका अनुसार, ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा हुनु स्वास्थ्यकर्मीहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्थानीय जनप्रतिनिधि र अभिभावकहरूको संयुक्त प्रयास र समर्पणको परिणाम हो ।’
नेपालमा करिव दुई दशकदेखि बालबालिकालाई आवश्यक खोप लगाउने अभियान चलाइँदै आएको छ । प्रत्येक वर्ष घरदैलो कार्यक्रममार्फत् दुई वर्ष मुनिका बालबालिकालाई १५ महिनाभित्र आवश्यक सबै खोपको पूर्ण मात्रामा लगाइएको छ कि छैन भनेर खोजी गरिन्छ । छुटेका बालबालिकालाई खोप लगाई पूर्ण मात्रा प्राप्त गर्न सुनिश्चित गरिएको छ ।
बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमले भने, ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना केवल एउटा औपचारिक घोषणा मात्र होइन, यो बालबालिकाको स्वास्थ्य सुरक्षा र भविष्यप्रति गरिएको एक महत्वपूर्ण प्रतिबद्धता हो । यसलाई सफलताको उत्सवको रूपमा पनि लिइन्छ ।’
प्रदेशस्तरमा हेर्दा मधेस प्रदेशले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेको छ भने अन्य प्रदेशहरू समेत यसका लागि तयारीमा छन् ।
यस उपलब्धिमा अन्तर्राष्ट्रिय साझेदार संस्था जस्तै गाभी, युनिसेफ, विश्व स्वास्थ्य संगठन र वाटर एडको पनि महत्वपूर्ण सहयोग रहेको छ ।
यो सफलता बालबालिकाको जीवन र स्वास्थ्य संरक्षणमा नेपालको प्रतिबद्धता र खोप कार्यक्रमको प्रभावकारिता दर्शाउने सकारात्मक संकेत हो । सरकारले तथा स्वास्थ्य विभागले यस अभियानलाई निरन्तरता दिँदै देशभर बालबालिकाको दीर्घकालीन स्वास्थ्य सुनिश्चित गर्न आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।