Swasthya Awaj
७३ जिल्लामा फैलियो डेंगु, संक्रमितको संख्या १८ सय नाघ्यो

काठमाडौं, असार २६- मुलुकभर डेंगु संक्रमण तीव्र रूपमा फैलिएको छ। पछिल्लो एक महिनाको तथ्यांकअनुसार देशका ७३ जिल्लामा डेंगुका बिरामी फेला परेका छन् भने संक्रमितको संख्या १८ सय नाघेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपलब्ध गराएको तथ्यांक अनुसार हालसम्म १,८६९ जना नागरिकमा डेंगु संक्रमण पुष्टि भइसकेको छ। संक्रमण तीव्र गतिमा फैलिरहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

डेंगु संक्रमण सबैभन्दा बढी गण्डकी, बागमती र कोशी प्रदेशमा देखिएको छ। गण्डकी प्रदेशमा हालसम्म ४५१ संक्रमित फेला परेका छन्। बागमतीमा ४३४, कोशीमा ३५०, लुम्बिनीमा ३०० जना संक्रमित रहेका छन्। सुदूरपश्चिम प्रदेशमा २६४, कर्णालीमा ३६ र मधेस प्रदेशमा ३४ जना बिरामी रहेका छन्। देशका जम्मा ८४ जिल्लामध्ये ७३ जिल्लामा डेंगु देखा परे पनि ९ जिल्लामा भने अहिलेसम्म संक्रमण नदेखिएको महाशाखाले जनाएको छ।

TB

डेंगु एडिज जातका लामखुट्टेको टोकाइबाट फैलिने संक्रामक रोग हो। विशेष गरी लामखुट्टे सफा पानीमा वृद्धि हुने भएकाले वर्षायाममा यो रोग तीव्र रूपमा फैलिन्छ। विशेषज्ञहरूका अनुसार संक्रमित व्यक्तिमा उच्च ज्वरो, टाउको र शरीर दुख्ने, वाकवाकी, पखाला, र शरीरमा रातो डाम देखिने लक्षण देखिन्छ। जटिल अवस्थामा रोगले ज्यानसमेत लिन सक्छ।

महाशाखाले सर्वसाधारणलाई घर वरिपरि सफा राख्न, पानी जम्न नदिने, झुलको प्रयोग गर्ने, र लामखुट्टे नाशक उपायहरू अपनाउन आग्रह गरेको छ। साथै, विद्यालय, अस्पताल र सार्वजनिक स्थानहरूमा डेंगु रोकथामका कार्यक्रम सञ्चालन गर्न स्थानीय तह र स्वास्थ्य संस्थालाई सुझाव दिइएको छ। डेंगु नियन्त्रणका लागि सबै तहका सरकार, स्वास्थ्यकर्मी, स्वयंसेवक र नागरिक एकजुट भएर सचेत र सतर्क हुनु अहिलेको आवश्यकता भएको महाशाखाले स्पष्ट पारेको छ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  ०७:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update