
काठमाडौँ, २०८२ साउन १२- नेपालकै ऐतिहासिक र सबैभन्दा पुरानो सरकारी अस्पताल वीरले आज आफ्नो १३६ औं वार्षिकोत्सव मनाएको छ। कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वीर अस्पतालको सुधारलाई समग्र स्वास्थ्य सेवा क्षेत्र सुधारको मूल चाबीको रूपमा व्याख्या गर्दै आवश्यक सुधारका लागि सरकार दृढ रहेको बताउनुभयो।
मन्त्री पौडेलका अनुसार देशभरको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पताल एक प्रमुख प्रतीक हो। “नेपालको स्वास्थ्य क्षेत्रको तस्बिर हेर्न चाहियो भने वीर अस्पताल हेरे पुग्छ,” उनले भने, “यदि वीर सुधार गर्न सकियो भने, त्यसले सम्पूर्ण स्वास्थ्य सेवा प्रणालीमा सकारात्मक प्रभाव पार्नेछ।”
उनले मन्त्रालयले वीरलाई आवश्यक पर्ने पूर्वाधार, उपकरण, जनशक्ति र प्रविधि उपलब्ध गराउन कुनै कसर बाँकी नराख्ने पनि स्पष्ट गरे। साथै, देशभरका अस्पतालहरूमा भदौ महिनासम्म स्वास्थ्य बीमा रकमको बक्यौता क्लियर गर्ने तयारी भइरहेको जानकारी पनि दिए।
मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा विगतमा सुधार प्रयासहरू भए तापनि ती पर्याप्त नभएको स्वीकार गर्दै थप लगानी र गम्भीर प्रयासको खाँचो रहेको बताए। “स्वास्थ्य क्षेत्र केही हदसम्म अघि बढेको छ, तर अझै धेरै सुधार गर्न बाँकी छ। यसका लागि नीति निर्मातादेखि सेवा प्रदायकसम्म सबै गम्भीर बन्नुपर्छ,” उनको भनाइ थियो।
वीर अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्माले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै हालसम्मको सेवा विवरण सार्वजनिक गरे।
- बहिरंग सेवा: ६ लाख ४७ हजार २१५ जना
- आकस्मिक सेवा: ३५ हजार १४१ जना
- अन्तरंग सेवा: २१ हजार २२४ जना
- शल्यक्रिया सेवा: २६ हजार ४४६ जना
डा. शर्माका अनुसार अस्पतालमा दैनिक २,५०० भन्दा बढी बिरामी सेवा लिन आउँछन्। अस्पतालले हाल २२ वटा क्लिनिकल विभाग र ३ वटा क्लिनिकल युनिटमार्फत विशेषज्ञ तथा विशिष्ट सेवा दिँदै आएको छ।
विगत १३ दशकदेखि सेवा दिँदै आएको वीर अस्पतालमा अहिले ७२ सघन उपचार शय्या (ICU) र ३८ वटा हाइ-डिपेन्डेन्सी युनिट (HDU) छन्। यद्यपि, डा. शर्माले हाल अस्पताल विभिन्न चुनौतीको सामना गरिरहेको बताए।
"बजेटको अभाव, समयमै स्वास्थ्य बीमा बोर्डबाट भुक्तानी नहुनु, जनशक्तिको दरबन्दी अपुग हुनु, र प्राविधिक जनशक्ति अभाव जस्ता विषयले सेवा प्रवाहमा असर गरेको छ," उनले स्पष्ट पारे।उनले वीर अस्पताललाई अध्ययन, अनुसन्धान र केन्द्रीय रेफरल सेवाको उत्कृष्ट केन्द्र बनाउने लक्ष्य रहेको पनि बताए।
विसं १९४६ साउन १२ गते १५ शैयाबाट सुरु भएको वीर अस्पताल हाल ९६० शैय्याको स्वीकृत क्षमतासहित सञ्चालनमा रहेको छ। लामो समयदेखि मुलुकको स्वास्थ्य प्रणालीको मेरुदण्डको रूपमा रहँदै आएको यो अस्पतालले देशभरका बिरामीका लागि आशाको केन्द्रको रूपमा आफूलाई स्थापित गरेको छ।
वीर अस्पतालको सुधार र विस्तारलाई स्वास्थ्य मन्त्रालयले प्राथमिकतामा राख्दै आएको छ। राजनीतिक इच्छाशक्ति, प्रशासकीय कुशलता र चिकित्सक तथा कर्मचारीको समर्पण एकैसाथ अघि बढ्न सकेमा वीर अस्पताल मात्र होइन, सम्पूर्ण स्वास्थ्य प्रणालीमा आमूल सुधार सम्भव हुने अपेक्षा गरिएको छ।