Swasthya Awaj
चिकित्सक आन्दोलन: आफैंलाई परे मात्र उठ्ने आवाज? अन्य स्वास्थ्यकर्मीका सवालमा मौन किन?

काठमाडौं, असार २५- हालै सम्पन्न चिकित्सक आन्दोलनले नेपालको स्वास्थ्य क्षेत्रलाई पुनः एकपटक बहसको केन्द्रमा ल्याएको छ। उपभोक्ता अदालतको फैसलाविरुद्ध चिकित्सकहरुले देशभर आंशिक सेवा बहिष्कार गरेका थिए, जसमा अन्ततः सरकारसँगको त्रिपक्षीय सहमतिपछि आन्दोलन स्थगित गरिएको हो। तर, यो आन्दोलनसँगै एक पुरानो प्रश्न फेरि उठेको छ । "चिकित्सकहरू आफैंलाई परेको बेला मात्रै किन बोल्छन, अरू स्वास्थ्यकर्मीका सवालमा किन सधैं मौन रहन्छन"

संघर्षमा नर्सिङ, प्यारामेडिक्स, फार्मेसी-साथ भने पाउँदैनन्
नेपालका नर्सहरू, प्यारामेडिकल स्टाफ, फार्मेसी व्यवसायी, ल्याब टेक्निसियन, रेडियोलोजिष्ट, एनामिक्स, अहेव र अन्य सहायक स्वास्थ्यकर्मीहरू विगतमा पटक-पटक आफ्नो पेशासँग जोडिएका समस्या, सेवा असमानता, तलबरसुविधा अभाव, र पेशागत अपमानको विरोधमा आवाज उठाउँदै आएका छन्। तर, यस्ता बेलामा चिकित्सक समुदायको औपचारिक समर्थन देखिएको इतिहास बिरलै पाइन्छ।

उदाहरणका लागि, नर्सिङ काउन्सिलको स्वायत्ततामाथि हस्तक्षेप भएको, लैङ्गिक विभेदका मुद्दा उठेका, वा नर्सहरूको तलब सुविधा घटाइएको घटनामा प्रमुख चिकित्सक संघहरू मौन बसे। यस्तै, फार्मेसी काउन्सिलमा राजनीतिक हस्तक्षेपको विरोधमा फार्मासिस्टहरूले आन्दोलन गर्दा, कुनै पनि चिकित्सक संघले ऐक्यबद्धता जनाएन।

TB

आन्दोलनमा चिकित्सक एक्ला होइनन्, तर नेतृत्व सधैं आफैँमा केन्द्रित
हालको आन्दोलनमा नर्सिङ संघ, फार्मेसी संघ, जनस्वास्थ्य संघ, ल्याब टेक्निसियन संघलगायतका २० भन्दा बढी स्वास्थ्य संघसंस्थाले चिकित्सकको पक्षमा खुलेर समर्थन जनाए। तर, यही समर्थन चिकित्सकहरूमार्फत अन्य स्वास्थ्य पेशाहरूको आन्दोलनमा भने पाइएको छैन।

स्वास्थ्य प्रणालीका विशेषज्ञहरू भन्छन "चिकित्सकहरू प्रायः आफ्ना पेशागत स्वार्थमा मात्रै केन्द्रित छन्। उनीहरूलाई अन्य स्वास्थ्यकर्मीको पेशागत स्वतन्त्रता, सम्मान र समस्याको विषयमा बोल्न अल्छी लाग्छ"

विश्लेषक डा. रविन कार्कीका अनुसार, "स्वास्थ्य सेवा एक टीमवर्क हो। तर, नेपालमा चिकित्सकहरूले आफूलाई ‘उपरी नेतृत्व’ को रूपमा हेर्ने प्रवृत्तिले अन्य पेशागत समूह उपेक्षित भइरहेका छन्।"

ऐतिहासिक उदाहरण: सहयोगभन्दा दूरी
२०७५ सालमा सरकारले ल्याएको "नर्सिङ सेवा समायोजन निर्देशिका" को विरोधमा देशभर नर्सहरू आन्दोलनमा उत्रिए। चिकित्सक संघ मौन रह्यो।

फार्मेसी काउन्सिल भंगको सिफारिस भएपछि फार्मासिस्टहरूले विरोध जनाउँदा चिकित्सक समुदायले चासो नदिएको आलोचना भयो।

पारामेडिक्स लाई “न्यूनस्तरीय” कर्मचारी भन्दै राज्यले वर्गीकृत गर्दा समेत कुनै ठूला चिकित्सक संघले आवाज उठाएनन्।

स्वास्थ्यकर्मीबीचको वर्गीय विभाजन?
नेपालको स्वास्थ्य संरचनामा चिकित्सकहरूलाई 'मुख्य' र अन्य स्वास्थ्यकर्मीलाई 'सहायक' भनेर हेर्ने सोच व्यापक रहेको देखिन्छ। यसले पेशागत समानता, पारस्परिक सम्मान र संस्थागत सहयोगको संस्कार विकास हुन सकेको छैन।

हालैको चिकित्सक आन्दोलन सफलतापूर्वक टुंगिएको छ। तर, यो आन्दोलनसँगै अन्य पेशागत समूहका मनमा एउटा गहिरो प्रश्न पनि छोडेको छ ।  "हामीले चिकित्सकको संघर्षमा साथ दियौं, तर हाम्रो संघर्षमा उनीहरू किन साथ दिँदैनन"

अबको आवश्यकता स्वास्थ्य सेवा क्षेत्रका सबै तहका पेशाकर्मीहरूको पारस्परिक सम्मान, ऐक्यबद्धता र समानताको चेतना हो। जबसम्म चिकित्सक र अन्य स्वास्थ्यकर्मीबीचको सोचमा समता आउँदैन, तबसम्म नेपालको स्वास्थ्य क्षेत्र समावेशी, न्यायपूर्ण र दिगो बन्न सक्दैन।

(देवकोटा स्वास्थ्य आवाजका कार्यकारी निर्देशक हुन)

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १९:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update