Swasthya Awaj
५८ नेपाली औषधि कम्पनीले पाए डब्लुएचओ जीएमपी प्रमाणपत्र, केहीको म्याद सकिने अवस्थामा

काठमाडौं, असार २०- औषधि उत्पादनको गुणस्तर र सुरक्षा सुनिश्चित गर्न जिम्मेवार औषधि व्यवस्था विभागले डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) को मापदण्डअनुसार ‘कुशल औषधि उत्पादन अभ्यास’ (Good Manufacturing Practice– GMP) प्राप्त नेपाली कम्पनीहरूको अद्यावधिक सूची सार्वजनिक गरेको छ ।

विभागले हालसम्म ८६ वटा औषधि उत्पादन कम्पनीहरूलाई उत्पादन अनुमति दिइसकेको छ । तीमध्ये ७० भन्दा बढी कम्पनीहरू सक्रिय रूपमा सञ्चालनमा रहेको विभागका अधिकारीहरूले जानकारी दिएका छन् । तर, डब्लुएचओको GMP मापदण्डअनुसार उत्पादन गरिरहेका कम्पनीको संख्या भने अझै सीमित देखिएको छ ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार, हालसम्म जम्मा ५८ कम्पनीहरू ले मात्र डब्लुएचओ GMP प्रमाणपत्र प्राप्त गरेका छन् । तर तीमध्ये पनि केही कम्पनीको प्रमाणपत्रको वैधता अवधि सकिएको छ भने केहीले नवीकरणको प्रक्रिया थालेका छन् ।

TB

पछिल्लो समय नेपाली बजारमा औषधिको गुणस्तरप्रति आम जनचासो बढ्दो छ । विदेशी औषधिभन्दा स्वदेशी औषधिप्रति उपभोक्ताको विश्वास घट्दै गएको भन्ने गुनासोका बीच, विभागले GMP प्रमाणीकरणलाई मजबुत आधार मान्दै आएको छ । GMP मापदण्डअनुसार उत्पादित औषधिलाई गुणस्तरमा विश्वस्तरको मानिन्छ ।

महानिर्देशक ढकालले भने, “कुनै समयमा GMP प्राप्त गरेका कम्पनीहरूको सूची हामीले अद्यावधिक गरेका हौं । केही कम्पनीको प्रमाणपत्रको म्याद सकिएको छ भने केही नवीकरण प्रक्रियामा छन् ।” उनका अनुसार, GMP प्रमाणीकरण प्राप्त कम्पनीका औषधिहरू विश्व स्वास्थ्य संगठनको न्यूनतम गुणस्तरीय मापदण्डअनुसार हुने भएकाले तीमा विश्वास गर्न सकिने आधार हुन्छ ।

विभागले सार्वजनिक रूपमा सूची प्रकाशन गर्नु पारदर्शिता र सार्वजनिक जवाफदेहिताका दृष्टिले सकारात्मक कदम मानिएको छ । यद्यपि, औषधि गुणस्तरसम्बन्धी नियमित अनुगमन र स्वीकृति प्रणाली अझ मजबुत बनाउन आवश्यक रहेको विज्ञहरू बताउँछन् ।

अहिले बजारमा गुणस्तरहीन वा अनुमतिबिना उत्पादन भएका औषधि बिक्री भइरहेका सन्देहका खबरहरू आउने क्रम नरोकेको अवस्थामा, GMP मापदण्डमा आधारित उत्पादनले औषधि सुरक्षामा योगदान पु-याउने अपेक्षा गरिएको छ ।

औषधि व्यवस्था विभागले उपभोक्तालाई पनि सतर्क रहन आग्रह गर्दै GMP प्राप्त कम्पनीको उत्पादनलाई प्राथमिकता दिनु पर्ने सन्देश दिएको छ । विभागका अनुसार, अबको दिनमा हरेक कम्पनीले समयमै GMP नवीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिनेछ ।

यो सूचीले उत्पादन कम्पनीहरूलाई पनि प्रतिस्पर्धात्मक रूपमा गुणस्तर सुधारतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ । विभागले आगामी दिनमा अनुमतिप्राप्त सबै कम्पनीको उत्पादन अनुगमन गरेर अनियमितता पाइएमा कारबाही प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ ।

औषधि उत्पादनमा गुणस्तर अनिवार्य मानक हो, र यसमा GMP प्रमाणपत्रको भूमिका निर्णायक हुन्छ । विभागले सार्वजनिक गरेको यो सूचीले औषधि क्षेत्रको पारदर्शिता र नियमन सुदृढ बनाउनेतर्फ एउटा सकारात्मक प्रयास गरेको देखिन्छ । अब सरकार, नियामक निकाय र औषधि उत्पादकबीचको समन्वयबाट नेपाली जनतालाई सुरक्षित, गुणस्तरीय र विश्वसनीय औषधिको पहुँच सुनिश्चित गर्नु समयको आवश्यकता बनेको छ ।

हेर्नुहोस् सूची:

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update