Swasthya Awaj
कीर्तिपुर अस्पतालको बर्न सेन्टरका लागि अमेरिका नेपाल मेडिकल फाउन्डेसनद्धारा १ करोड ३० लाख नेपाली रुपैयाँ सहयोग

काठमाडौंः कीर्तिपुर अस्पतालको बर्न सेन्टरको विकास र विस्तारका लागि अमेरिका नेपाल मेडिकल फाउन्डेसनद्धारा १ करोड ३० लाख नेपाली रुपैयाँ सहयोग गरेको छ। फाउन्डेसनका अध्यक्ष डा. विनोद खड्काका अनुसार नेपालमा जलनका बिरामीले सहज रुपमा उपचार सेवा पाउन सकुन भनेर बर्न सेन्टरको प्रस्ताव अनुसार सहयोग रकम पठाइएको हो। 

बर्न सेन्टरले सेवा विस्तारका लागि रकम आवश्यक परेको भन्दै अमेरिका नेपाल मेडिकल फाउन्डेसनसँग सहयोगका लागि प्रस्ताव गरेको थियो। उक्त प्रस्तावलाई स्वीकार गर्दै सहयोग रकम पठाएको हो। अस्पतालका अनुसार बर्न सेन्टरको आइसीयू, भेन्टीलेटर, मोनिटर, लगायतका उपकरण तथा सामग्रीमा उक्त रकम खर्च हुने छ।

नेपालमा जलका घटना बढ्दो क्रममा रहेको र उनीहरुको उपचारका लागि उच्चस्तरीय सेवा सहितको सेन्टरको कमी रहेका कारण अस्पतालले जलनका गम्भीर बिरामीको समेत उपचार हुने गरी सेन्टरलाई विस्तार गर्न लागेको हो।

अस्पतालमा १ वर्षमा ६ सयभन्दा बढी जलनका बिरामी उपचारका लागि आउने गरेका छन् । गम्भीर अवस्थाका बिरामीलाई उपचार सेवा दिन समस्या हुँदा भर्ना भएका मध्ये १५ देखि २० प्रतिशतको मृत्यु हुने तत्यांक अस्पतालको छ । अस्पतालले ती बिरामीको मृत्युदर कम गर्न बर्न सेन्टरलाई विस्तार गर्दै अगाडि बढ्न खोजेको हो।

सन् १९९७ बाट सुरुवात भएको यस अमेरिका नेपाल मेडिकल फाउन्डेसनले स्थापनाकाल देखिनै नेपालको बृहत्तर स्वास्थ्य क्षेत्रको विकासका लागि काम गर्दै आइरहेको छ। यसले शिक्षा, तालिम र अनुसन्धानको प्रवर्द्धनका लागि पूर्वाधार निर्माण देखि चिकित्सा क्षमता अभिवृद्धि सम्मका विभिन्न गतिविधि सञ्चालन गरी नेपालको स्वास्थ्य सेवालाई अघि बढाउन सक्रिय रूपमा सहभागी हुँदै आइरहेको छ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update