Swasthya Awaj
स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एउटै छातामुनि ल्याउने ऐनको विपक्षमा उपप्रधान एवं स्वास्थ्य मन्त्री यादव

काठमाण्डौः सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एउटै छातामुनि ल्याउनु उचित नभएको बताउनुभएको छ । सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नियमन गर्ने छाता ऐन ल्याउन लागेको चर्चा भएको धेरै भइसक्यो। 

करिब २ वर्षअघि मस्यौदा तयार भइसकेको र ऐन छिट्टै आउने दावी तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको थियो। 

आफ्नो व्यक्तिगत बुझाइमा त्यो कुरा ठिक नलागेको स्वास्थ्य मन्त्री यादवको भनाइ छ । छाता ऐनले झन समस्या ल्याउन सक्ने मंगलबार पत्रकारहरुसँगको भेटमा मन्त्री यादवले बताउनुभयो । 

छाता ऐन ल्याएर शक्ति एक ठाउँमा केन्द्रीत गर्दा शक्तिको दुरुपयोग हुनसक्ने उहाँको बुझाइ छ । अहिले आ–आफ्नो तरिकाले स्वायक्त रुपमा चलेका प्रतिष्ठानलाई नियन्त्रण गर्न खोज्दा अहिलेको भन्दा पनि नाजुक अवस्था आउनसक्ने तर्क मन्त्री यादवको छ । 

‘प्रतिष्ठानहरुलाई एक पटक बलियो बनाएर आफैँ गरे भनेर छाड्नुपर्छ’ मन्त्री यादवले भन्नुभयो, ‘त्यो सम्भव छ । पाटनले गरिरहेको छ । बीपीले गरिरहेको थियो।’

प्रतिष्ठानहरुलाई सम्पन्न र स्वायत्त बनाएर बलियो रुपमा उभ्याउनु पर्नेमा मन्त्री यादवको जोड छ । 

यो आफ्नो व्यक्तिगत धारणा मात्रै रहेको मन्त्री यादवले स्पष्ट पार्नुभयो । सबैले उचित ठानेमा यसमा आफ्नो साथ रहनेपनि उहाँको भनाइ छ। 

 गर्न खोजिएको हो के ?

अहिले देशभर ८ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन् । छुट्टाछुटै ऐन अन्तर्गत सञ्चालित प्रतिष्ठानमा छुट्टाछुटै उपकूलपतिसहितको नेतृत्व छ ।

अब छाता ऐन ल्याएर एउटै नेतृत्व अन्तर्गत प्रतिष्ठान रहने व्यवस्था गर्न लागिएको छ ।  केन्द्रमा एक उपकूलपति, एक रेक्टर र एक रजिस्टार रहने छन् । प्रत्येक प्रतिष्ठानमा शैक्षिक कार्यक्रमको नेतृत्वका लागि डिन र अस्पतालको नेतृत्वका लागि निर्देशक रहने व्यवस्था गर्ने गरी मस्यौदा तयार गरिएको छ । 

यो ऐन आएपछि प्रतिष्ठानको खर्च कटौती हुने, आर्थिक पारदर्शिता कायम हुने, प्रतिष्ठानको नेतृत्वबारे हुने विवादको अन्त्य हुने अपेक्षा गरिएको छ।

यो नयाँ नभई २०७७–०७८ कै नीति कार्यक्रममा समावेश भएको योजना हो । तत्कालीन स्वास्थ्य मन्त्री भानुभक्त ढकालकै पालामै मस्यौदा समिति बनेपनि टुंगा भने लागेको थिएन । २ वर्ष अगाडि स्वास्थ्य मन्त्री विरोध खतिवडाले यसबारे केही कुरा उठाएपनि पछिल्ला दिनमा यो विषय ओझेलमा परेको देखिन्छ । 

‘न्याम्स र वीरलाई भने छुट्याउँदा राम्रो’
यसैबीच मन्त्री यादवले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र वीर अस्पताल छुट्याउन पर्ने पक्षमा आफू रहेको बताएका छन् । उनले भने, ‘एकेडेमिक अर्थात प्राज्ञिक कार्य सबै न्याम्स अन्तरगत सञ्चालन गर्ने र उपचार तथा मेडिकल कलेजको काम वीरमा भयो भने राम्रो हुन्छ । अहिले वीर र न्याम्समा देखिएको बेथिति पनि सुधार हुन्छ भन्ने लाग्छ ।’

त्यसो त न्याम्स र वीरलाई छुट्याउने विधेयक संसदमा दर्ता भइसकेको छ । तर एकीकृत हुनुपर्छ र छुट्टा छुट्टै हुनुपर्छ भन्ने समूह उत्तिकै बलिया देखिएका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update