
काठमाडौँ, २०८२ श्रावण २२- नेपालमा मुटु, क्यान्सर तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोगका बिरामीहरूको संख्या दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको देखिएको छ। स्वास्थ्य विज्ञहरूका अनुसार यस्ता रोगहरू गैर-संक्रामक श्रेणीमा पर्दछन्, जसले दीर्घकालीन असर पुर्याउने भएकाले विशेष सतर्कता आवश्यक छ।
नसर्ने रोगसम्बन्धी अभियानमा सक्रिय ‘नेपाल एनसिडी एलाइन्स’का डा. मनिता प्याकुरेलका अनुसार नेपालमा हाल देखिएका प्रमुख तीन नसर्ने रोगहरूमा मुटु रोग सबैभन्दा अगाडि छ, जुन कुल रोगको करिब ३० प्रतिशत हिस्सा ओगट्ने गर्छ। त्यसपछि श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग १० प्रतिशत र क्यान्सर करिब ९ प्रतिशत बिरामीमा देखिन्छ।
स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय अध्ययन ‘ग्लोबल बर्डेन अफ डिजिज’का पछिल्ला तथ्यांकअनुसार नेपालमा सन् २०१९ मा भएको कुल मृत्युमध्ये झण्डै ७१ प्रतिशत मृत्युको कारण नसर्ने रोग नै रहेका थिए। सन् २०१० मा यो अनुपात ५१ प्रतिशत मात्र थियो, जुन एक दशकभित्रै २० प्रतिशतभन्दा बढीले वृद्धि भएको देखिन्छ।
नसर्ने रोगहरूको उपचारमा लाग्ने खर्च पनि अत्यधिक हुने देखिएको छ। स्वास्थ्य प्रणालीमा हुने कुल खर्चमध्ये एक ठूलो हिस्सा यिनै रोगको उपचारमा जाने हुँदा दीर्घकालीन योजनाबद्ध नीति आवश्यक रहेको विज्ञहरूको भनाइ छ।
विश्व स्वास्थ्य संगठन (WHO) ले सन् २०५० सम्ममा विश्वमा मृत्यु गराउने प्रमुख पाँच कारणमध्ये सबै नसर्ने रोग नै हुने भविष्यवाणी गरेको छ। यी रोगहरू मुख्यतः धुम्रपान, मद्यपान, अस्वस्थ आहार, शारीरिक निष्क्रियता तथा वायु प्रदूषण जस्ता जोखिमयुक्त व्यवहार र वातावरणीय कारणले बढेका हुन्।
एलाइन्सका सदस्य तथा स्वास्थ्य पत्रकार सरोज ढुङ्गेलले सरकारले नागरिकहरूलाई नसर्ने रोगसम्बन्धी जोखिम र रोकथामबारे समयमै जानकारी नदिएको गुनासो गरे। उनका अनुसार जनस्तरमा चेतना अभावका कारण रोग समयमै पत्ता लाग्दैन र अवस्था जटिल हुँदै जान्छ।
स्वास्थ्य पत्रकार मञ्च नेपालका पूर्व अध्यक्ष रामप्रसाद न्यौपानेले पनि नसर्ने रोग नियन्त्रणमा सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुने बताए। “सरकार मात्र होइन, पत्रकारहरूले पनि स्वास्थ्य शिक्षाको वाहकको रूपमा जिम्मेवारी लिनुपर्छ,” उनले भने।
स्वास्थ्य विज्ञहरूका अनुसार, अबको आवश्यकता दीर्घरोगहरूको रोकथाम र जीवनशैली सुधारमा जोड दिनु हो, जसका लागि दीर्घकालीन रणनीति र समन्वित प्रयास अपरिहार्य देखिन्छ।