
तुलसीपुर, २०८२ श्रावण २०- ‘प्रादेशिक’ अस्पताल भनेर गर्व गर्नुपर्ने राप्ती प्रादेशिक अस्पतालमा अहिले सुत्केरी सेवा नै बन्दजस्तै भएको छ। प्रसूति तथा स्त्री रोग विशेषज्ञ केवल एक जनामात्र हुँदा, उनी बिदामा जाँदा अस्पतालको प्रसूति कक्ष सुनसान बनेको छ।
तुलसीपुर-१३ की मिना बिकलाई राति १२ बजे व्यथा लागेपछि श्रीमान् अम्बा बिकले राप्ती प्रादेशिक अस्पताल पुर्याए। तर त्यहाँ डाक्टर नभएको सूचना पाएपछि बिहानै ४ बजे उनीहरू घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे, जहाँ ६ बजे बच्चा जन्मियो। “आफ्नै ठाउँमा सेवा नपाएर अन्यत्र जानुपर्यो। जोखिम मोल्न सक्दैनौं,” अम्बा बिकको गुनासो थियो।
त्यस्तै दंगीशरणकी खुमाकुमारी रावत पनि उपचारका लागि नेपालगञ्ज पुग्न बाध्य भइन्। “डाक्टर नभएको थाहा पाएपछि हतारमा कोहलपुर गयौं,” उपचारमा खटिएकी प्रमिला बुढाथोकीले भनिन्, “त्यहाँका डाक्टरले पनि यस्तो सामान्य केस बाहिर ल्याउनु परेकोमा आश्चर्य मान्नुभयो।”
अस्पतालका अनुसार प्रसूति तथा स्त्री रोग विशेषज्ञ केवल एक जना छन्। उनी बिदामा जाँदा प्रसूति कक्षमा ६ दिनसम्म जम्मा ६ जना मात्र सेवा लिन आए। त्यही अवधिमा ४१ जना बिरामी रिफर गरिए। यो संख्या रिफर गरिएको मात्र हो, आफ्नै इच्छा वा असुविधाले बाहिर गएकाहरूको संख्या अझै धेरै हुनसक्छ। नर्स कमला खड्काको भनाइमा, “हामी सेवामा छौं तर डाक्टर नभएको खबर सुनेपछि सेवाग्राही फर्किन्छन्।”
असारमा १९४ जना महिलाले अस्पतालमा सुत्केरी सेवा लिएका थिए, तर साउनमा १५ गतेसम्म यो संख्या घटेर ४३ मा झरेको छ। डाक्टर नहुँदा अस्पतालको प्रसूति कक्ष सुनसान भएको छ, नर्सहरू खाली समयमा कागजात मिलाउने काम गर्दै बसेका छन्।
“डाक्टर नभएर रिफर गर्नु पर्दा हृदय दुख्छ,” नर्स खड्काले भनिन्, “हामीलाई बाहिरका अस्पतालबाट फोन आउँछ यस्तो सामान्य केस पनि गर्न सक्नुहुन्न?”
अस्पतालका कार्यवाहक मेसु डा. पदमराज अधिकारीका अनुसार, मन्त्रालयमा पटक-पटक आग्रह गर्दा पनि डाक्टर व्यवस्थापनमा सुनुवाइ भएन। "कहिल्यै विज्ञापन खोलिन्छ, अन्तर्वार्तामा पुगेर स्थगित हुन्छ," उनले भने।
"लुम्बिनी प्रादेशिक अस्पतालमा १४ जना स्त्रीरोग विशेषज्ञ छन्, राप्तीमा एक जना। यो विभेद होइन?" उनले प्रश्न गरे।
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले समस्याको जानकारी भएको स्वीकार गर्दै भनिन्, “एकजना डाक्टर व्यवस्थापन गर्न खोज्दा १० नेताको फोन आउँछ। हामी समाधान खोज्दैछौं।”
‘प्रादेशिक’ नाम मात्रैको अस्पताल राप्तीको प्रसूति सेवा एक जनाको भरमा सञ्चालन हुँदै आएको छ। डाक्टरको अनुपस्थितिमा जोखिम मोल्न नसक्ने सेवाग्राहीहरू घोराही, नेपालगञ्ज, कोहलपुर धाउन बाध्य छन्। डाक्टर अभावको यो समस्या स्थायी समाधानबिना फेरि-फेरि दोहोरिने खतरा बढ्दो छ। अब अस्पतालको संरचनाभन्दा जनशक्ति व्यवस्थापन र सेवा उपलब्धतालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने देखिन्छ।