Swasthya Awaj
डेंगुको जोखिम बढ्दो, खोप अझै धेरैको पहुँच बाहिर

काठमाडौं, २०८२ साउन १५- लामखुट्टेबाट सर्ने डेंगु रोगले नेपालमा भयावह रूप लिँदै गएको छ। गम्भीर ज्वरो, शरीर दुख्ने समस्या र जीवन जोखिमसम्म पुर्‍याउन सक्ने डेंगु अब केवल मौसमी समस्या मात्र रहेन। यो रोग अहिले वर्षभरि देखिने विश्वव्यापी चुनौती बन्न पुगेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, पछिल्ला दुई दशकमा डेंगुका घटनामा दस गुणाले वृद्धि भएको छ। सन् २०२३ मा मात्रै विश्वभर ६५ लाखभन्दा बढी मानिस डेंगु संक्रमित भए भने ७३०० जनाले ज्यान गुमाए। नेपालमा सन् २०२४ को सुरुवाती ६ महिनामै २८,२१२ जना संक्रमित देखिए, जसमध्ये १२ जनाको मृत्यु भयो। ७७ वटै जिल्लामध्ये ७६ जिल्लामा संक्रमण फैलिएको देखिनु, डेंगुको गम्भीरता पुष्टि गर्ने तथ्य हो।

स्वास्थ्य विज्ञहरूका अनुसार, शहरीकरण, जलवायु परिवर्तन, र खुल्ला जलाशयको वृद्धि डेंगु फैलाउने एडिस एजिप्टाई जातका लामखुट्टेका लागि उपयुक्त वातावरण बनाउँदैछन्। तापक्रमको वृद्धिले यी लामखुट्टे वर्षैभरि सक्रिय रहन सक्छन्, जसले संक्रमणको चक्र निरन्तर बनाइरहन्छ।

TB

डेंगुका लागि हालसम्म कुनै निश्चित उपचार छैन। रोग लागेपछि लक्षण अनुसार उपचार गर्ने गरिएको छ। यस्तो अवस्थामा खोपलाई रोग नियन्त्रणको विकल्पको रूपमा हेरिएको छ। तर समस्या के छ भने खोप सबैका लागि सहज छैन।

हाल दुईवटा खोप प्रयोगमा छन् 

  • डेङ्गभ्याक्सिया: पहिले डेंगु भइसकेका ६–१६ वर्षका बालबालिकामा मात्र प्रयोग गर्न मिल्ने खोप। पहिले संक्रमण नभएका व्यक्तिमा गम्भीर असर देखिएपछि धेरै देशमा यसको प्रयोग घटेको छ।

  • क्युदेंगा: ताकेदा कम्पनीद्वारा विकास गरिएको यो खोपले डेंगुका चारै प्रकारविरुद्ध सुरक्षा दिने देखिएको छ। तर यसको लागत धेरै भएकोले गरीब मुलुकका लागि ठूलो चुनौती बनेको छ।

नेपालको औसत वार्षिक आम्दानीका आधारमा हेर्दा क्युदेंगाको खोप कोर्स खर्चले एक व्यक्तिको वार्षिक आयको ७–२२ प्रतिशतसम्म ओगट्न सक्छ। अझ, धेरै नेपाली दिनको २ डलरभन्दा कम आम्दानीमा जीवन चलाइरहेका छन्, जसले खोप पहुँच बाहिर पुर्‍याउँछ।

सन् २०१६ मा फिलिपिन्सले सुरु गरेको राष्ट्रव्यापी डेंगु खोप अभियान प्रारम्भमा उत्साहजनक देखिए पनि केही समयमै समस्या देखियो। खोपले पहिले डेंगु नभएका बालबालिकामा उल्टै असर गरेपछि अभियान रोकिनुपर्‍यो। यसले जनविश्वासमा गम्भीर असर पुर्‍याएको थियो।

स्वास्थ्य विज्ञहरू भन्छन्, डेंगुको खोप सफलतापूर्वक लागू गर्न प्रत्येक देशले आफ्ना आवश्यकताअनुसार योजना बनाउनु पर्छ। नेपालको सन्दर्भमा, खोपको मूल्य, स्वास्थ्य पूर्वाधार, रोगको अवस्था र अन्तर्राष्ट्रिय सहयोग सबैलाई सन्तुलित रूपमा व्यवस्थापन गर्नु जरुरी छ। यदि खोपलाई जनस्तरसम्म पुर्‍याउन सकिएन भने, डेंगु महामारी अझ विकराल हुन सक्छ। त्यसैले, अब समय आएको छ- जीवनरक्षक खोपहरूलाई सबैका लागि सुलभ बनाउने ठोस कदम चाल्नुपर्ने।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update