
काठमाडौं, २०८२ साउन १५- नेपालमा क्षयरोग (टीबी) नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आगामी पञ्चवर्षीय रणनीतिक योजना (२०८३/८४- ०८७/८८) निर्माण प्रक्रिया सुरु गरेको छ। यसका लागि केन्द्रले तीन दिने सरोकारवाला परामर्श कार्यशाला सम्पन्न गरेको छ।
कार्यशालामा संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्यकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञ गरी ८० भन्दा बढीको सहभागिता थियो। कार्यशालामा विगतका रणनीतिक योजनाहरूको समीक्षा गर्दै नयाँ रणनीतिको प्रारम्भिक खाका तयार पारिएको हो।
केन्द्रका निर्देशक डा. श्रीराम तिवारीका अनुसार, नयाँ योजनाले विगतका कमजोरी, अवसर, चुनौती र ग्यापहरूको विश्लेषण गरी थप प्रभावकारी रणनीति निर्माणमा सहयोग पुर्याउनेछ। आगामी नोभेम्बरसम्म यसलाई अन्तिम रूप दिने तयारी केन्द्रको छ।
स्वास्थ्य मन्त्रीको सुझाव: अनुभवलाई आधार बनाएर रणनीति बनाऔँ
कार्यशालाको समापन समारोहमा सहभागी भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विगतको अनुभवलाई आधार बनाएर नयाँ रणनीति निर्माण गर्न आग्रह गरे। "के सफल भयो, के भएन, के सुधार गर्न सकिन्छ भन्ने समिक्षाबाट मात्रै आगामी रणनीति सार्थक हुन्छ," मन्त्री पौडेलले भने।
टीबीको वर्तमान अवस्था र चुनौतीहरू
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार, २०८०/८१ मा देशभर ४०,७७६ क्षयरोगका बिरामी फेला परेका थिए। तीमध्ये ६१ प्रतिशत पुरुष, ३९ प्रतिशत महिला र बालबालिका ८.६ प्रतिशत थिए। चालु आर्थिक वर्षको १० महिनामा मात्रै २९,८७७ नयाँ केस पत्ता लागिसकेको केन्द्रले जनाएको छ।
टीबीका जोखिम कारकहरूमा धूम्रपान, कुपोषण, मधुमेह, मदिराको अत्यधिक सेवन र एचआईभी रहेका छन्। वार्षिक १६ हजारभन्दा बढी नेपालीको मृत्यु क्षयरोगबाट हुने तथ्यले चुनौती झनै गम्भीर बनाएको छ।
रणनीतिक लक्ष्य: महामारी अन्त्यदेखि उन्मूलनसम्म
नयाँ रणनीतिमा ‘टीबी-मुक्त नेपाल’ को परिकल्पना गरिएको छ। सन् २०३५ भित्र क्षयरोगको महामारी अन्त्य गर्ने र सन् २०५० भित्र पूर्ण रूपमा उन्मूलन गर्ने दीर्घकालीन लक्ष्य लिइएको छ। यसैक्रममा, सन् २०२६ भित्र क्षयरोगको दर प्रति १ लाखमा २३८ बाट घटाएर १८१ मा र मृत्यु दर ५८ बाट घटाएर २३ मा ल्याउने लक्ष्य लिइएको छ।
यो रणनीति कार्यान्वयनका लागि सरकार, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय साझेदार र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।