Swasthya Awaj
स्वास्थ्य मन्त्रालयद्वारा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन २०८२ जारी

काठमाडौँ, २०८२ श्रावण ८- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन २०८२ जारी गरेको छ । यो मार्गदर्शन नेपालको संविधानको धारा ३५ मा उल्लिखित आधारभूत स्वास्थ्य सेवाको हक र ज्येष्ठ नागरिकको विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हकलाई दृष्टिगत गरी ल्याइएको हो ।

यस मार्गदर्शनको मुख्य उद्देश्य ज्येष्ठ नागरिकहरूलाई सरल, सहज र सुलभ तरिकाले स्वास्थ्य सेवा प्रदान गर्नु हो । यसका लागि विभिन्न अस्पतालहरूमा ज्येष्ठ नागरिकमैत्री स्वास्थ्य सेवा सञ्चालन गरिनेछ । साथै, जेरियाट्रिक ९ज्येष्ठ नागरिक० स्वास्थ्य सेवा सञ्चालन निर्देशिका, २०७८ र जेरियाट्रिक स्वास्थ्य सेवा मापदण्ड, २०७९ बमोजिम सेवा प्रदान गर्न सहज बनाउने र ज्येष्ठ नागरिकमैत्री सेवा प्रदान गर्ने लक्ष्य पनि राखिएको छ ।

TB

आर्थिक वर्ष २०८२/८३ मा संघीय सशर्त अनुदानअन्तर्गत जम्मा ६७ वटा अस्पतालहरूबाट ज्येष्ठ नागरिकहरूलाई सहुलियतपूर्ण सेवा सञ्चालन गरिनेछ । यस कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन सामाजिक सेवा एकाइ स्थापना तथा निर्देशिका, २०७९ बमोजिम अस्पतालमा गठन भएको सामाजिक स्वास्थ्य सुरक्षा व्यवस्थापन समितिबाट गरिएका निर्णयका आधारमा हुनेछ । मन्त्रालयबाट प्राप्त सशर्त अनुदानको कम्तीमा २० प्रतिशत रकम ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन कार्यक्रमका लागि छुट्याउनु पर्नेछ ।

सेवा सञ्चालन प्रक्रियाका मुख्य बुँदाहरू:

  • अस्पतालका सबै विभाग र वार्डबाट ज्येष्ठ नागरिकमैत्री सेवा प्रदान गरिनुपर्नेछ ।
  • पहिलो पटक सेवा लिन आउँदा बिरामीले नाम, ठेगाना र उमेर खुल्ने आधिकारिक परिचयपत्र वा प्रमाण कागजात पेश गर्नुपर्नेछ ।
  • ज्येष्ठ नागरिकका लागि बहिरंग सेवाका लागि टिकट लिन प्राथमिकताको छुट्टै लाइनको व्यवस्था गर्नुपर्नेछ ।
  • स्वास्थ्य बीमा कार्यक्रम लागू भएको अवस्थामा बीमाबाटै उपचार गर्न प्राथमिकता दिनुपर्नेछ । बीमित नभएका ज्येष्ठ नागरिकको हकमा मात्र यस कार्यक्रमबाट अपुग भएको रकम खर्च गरिनेछ ।
  • ५० शैयाभन्दा माथिका अस्पतालहरूले ज्येष्ठ नागरिक बिरामीहरूलाई प्रभावकारी सेवा प्रदान गर्न छुट्टै बहिरंग कक्षको व्यवस्था गर्नुपर्नेछ ।
  • १०० शैयाभन्दा माथिका अस्पतालहरूले छुट्टै जेरियाट्रिक वार्डको व्यवस्था गर्नुपर्नेछ ।
  • ज्येष्ठ नागरिक विशिष्टिकृत वार्ड सञ्चालन भएका अस्पतालहरूले अन्य अस्पतालहरूबाट प्रेषण गरिएका ज्येष्ठ नागरिक बिरामीहरूलाई विशिष्टिकृत सेवा उपलब्ध गराउनुपर्नेछ ।
  • अस्पतालको नजिक पर्ने वृद्धाश्रमरज्येष्ठ नागरिक स्याहार केन्द्रमा मासिक रूपमा अस्पतालबाट बहिरंग सेवा सञ्चालन गर्नुपर्नेछ ।

सेवा शुल्कमा सहुलियत:
नेपाल सरकारबाट उपलब्ध गराइएको ज्येष्ठ नागरिक परिचयपत्रको आधारमा अस्पताल व्यवस्थापनले उमेर, शारीरिक अशक्तता र आर्थिक स्थितिका आधारमा सहुलियत प्रदान गर्नेछ ।

  • ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई तोकिएका निश्चित स्वास्थ्य उपचार सेवामा ५०% छुट ।
  • ७० देखि ७९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई शारीरिक अशक्तता, दीर्घरोग र आर्थिक स्थितिका आधारमा ७५% छुट ।
  • ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचार सेवामा शतप्रतिशत छुट ।
  • प्राइभेट वार्ड वा क्याबिनमा बसी उपचार गर्दा कुनै छुट सुविधा उपलब्ध हुनेछैन ।

यस मार्गदर्शनले ज्येष्ठ नागरिकहरूको स्वास्थ्योपचारमा पहुँच वृद्धि भई गुणस्तरमा सुधार आउने र उनीहरू लाभान्वित भएको प्रतिक्रिया दिने अपेक्षा गरिएको छ ।

यस्तो छ मार्गदर्शन २०८२ 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १९:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update