
जुम्ला, असार १८ः नेपालको दुर्गम क्षेत्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा बालरोग विशेषज्ञका रूपमा कार्यरत डा. कमल प्रसाद थानीका लागि चिकित्सा पेसा केवल पेशा होइन, सेवा, संकल्प र संवेदनाको समिश्रण हो। जहाँ दैनिक जीवन कठिन छ, जहाँ उपचारको आशा सीमित छ, जहाँ एक झल्को अस्पताल सेवाको अभावले ज्यान गुमाउने घटना सामान्य जस्तै लाग्छ। त्यही कर्णालीमा एक चिकित्सक र एक अनाम दाताको सहकार्यले पछिल्लो केही वर्षमै चलिसौं बालबालिकाको जीवन बचाएको एउटा साँचो, प्रेरणादायी र आँसु झार्ने कथा छ।
उनी भन्छन्, “हामी बिरामीको ज्यान जोगाउन रातदिन लागिपर्ने स्वास्थ्यकर्मी हौं। न त हामी भगवान हौं, जसले सबै रोग निको पार्न सक्छौं, न त व्यापारमा लागेको व्यवसायी हौं, जसले बिरामीलाई कमाईको माध्यम ठान्छ।” तर हामि ज्यान बचाउने संकल्पमा छौं"
तर पछिल्लो समय चिकित्सकमाथि लापरवाहीको आरोप लगाएर उपभोक्ता अदालतबाट एकपछि अर्को गर्दै ठूला रकमको क्षतिपूर्तिको फैसला गरिँदा स्वास्थ्य क्षेत्र तनावग्रस्त बनेको छ। ओम अस्पतालमाथि ५० लाख ७० हजार, हिमाल अस्पताल र त्यहाँ कार्यरत चिकित्सकमाथि १ करोड ४५ लाख, र ग्राण्डी सिटी अस्पताल तथा चिकित्सकमाथि ५७ लाख रुपैयाँ तिर्नुपर्ने फैसलाले देशभरका चिकित्सकहरु आक्रोशित बनेका छन्। डा. थानीका अनुसार, "चिकित्सकले आफ्नो सबै ज्ञान, प्रयास र सिप प्रयोग गरेर बिरामीको उपचार गर्छ। उपचार सफल नहुन सक्ला, जटिलता आउन सक्ला, तर त्यो जानाजान गरिएको लापरवाही भन्ने निष्कर्ष कसरी निकाल्न मिल्छ"
नेपाल मेडिकल काउन्सिल हो न्यायिक निकाय, उपभोक्ता अदालत होइन
डा. थानी स्पष्ट शब्दमा भन्छन्, "चिकित्सकीय लापरवाहीसम्बन्धी छानबिन गर्ने र फैसला सुनाउने जिम्मा नेपाल मेडिकल काउन्सिललाई दिनुपर्छ। त्यो निकायमा विषय विज्ञ, विशेषज्ञ र चिकित्सा क्षेत्रका जानकारहरू छन्। उनीहरूमार्फत मात्र न्यायोचित निर्णय आउन सक्छ। तर अहिलेको अभ्यास यस्तो छ कि सामान्य जटिलता पनि लापरवाही ठहर गर्दै चिकित्सकमाथि क्षतिपूर्तिको भारी थोपिन्छ।" उनको तर्क छ "यदि उपचार सधैं १०० प्रतिशत सफल हुने हो भने संसारभर डाक्टरले बिरामी गुमाउँदैनथे। तर कहिलेकाहीं औषधि असर नगर्न सक्छ, रोग असाध्य हुन सक्छ, वा बिरामीको शरीरले प्रतिक्रिया नदेखाउन सक्छ। यी सबैलाई लापरवाही भन्न मिल्दैन।"
"हामी भगवान होइनौं, तर ज्यान बचाउने संकल्पमा छौं"
हालै केही अस्पताल र चिकित्सकमाथि उपभोक्ता अदालतबाट दिइएका क्षतिपूर्तिका फैसलाले चिकित्सक समुदायमा ठूलो तरंग ल्याएको छ। ओम अस्पतालमाथि ५० लाख ७० हजार, हिमाल अस्पतालमा कार्यरत चिकित्सकहरूलाई १ करोड ४५ लाख, र ग्राण्डी सिटी अस्पतालका चिकित्सकमाथि ५७ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनिएको छ।यी घटनाक्रमका सन्दर्भमा डा. थानी भन्छन् -“हामी चिकित्सक न त भगवान हौं, न त शुद्ध व्यापारी। तर हाम्रो कर्म सधैं सेवा केन्द्रित हुन्छ। त्रुटि हुन सक्छ, जटिलता आउन सक्छ, तर जानाजान बिरामी बिगार्ने हाम्रो नियत कहिल्यै हुँदैन।”उनले थपे-“यस्ता फैसलाले विकट क्षेत्रमा सेवा गर्ने हामीजस्ता चिकित्सकहरूको मनोबल गिराउँछ। आज पनि कर्णालीमा चिकित्सक आउनै मान्दैनन्, अब यस्ता दवावले हामी बाँकी रहेका केही पनि पलायन हुने अवस्था आउन सक्छ।”
कर्णालीजस्तो दुर्गममा सेवा गर्नु, बोल्न सजिलो, बस्न गाह्रो
कर्णाली प्रदेश, विशेषगरी जुम्ला जस्तो विकट जिल्ला, जहाँ डा. थानी विगत १० वर्षदेखि कार्यरत छन्। “यहाँको मौसम, यातायात, पूर्वाधार र जनसंख्या स्वास्थ्य शिक्षामा कमजोर छ, यहाँ डाक्टरहरू टिकाउन निकै गाह्रो छ। तर हामी सेवा गर्न आएकाहरू हौं, भाग्न होइन। "कर्णालीमा बसेर सेवा गर्नु सजिलो छैन", डा. थानी भन्छन्, "यहाँ डाक्टरहरू बस्नै मान्दैनन्। हामी जस्ता केही चिकित्सक मात्र विकटतामा पनि नछाडौं, सेवा गरौं भनेर बाँचेका छौं। तर अहिले चिकित्सकको मनोबल तोड्ने निर्णयहरू हुँदैछन्, जसले हामीलाई नैतिक रूपमा कमजोर बनाइरहेको छ।" उनले जोड दिए "साँच्चै भन्नुपर्दा यस्ता अवस्था बढ्दै जाँदा अब विकट क्षेत्रमा सेवा गर्ने डाक्टर खोज्न अझै मुस्किल पर्नेछ।"
'डाक्टरले पनि पीडा महसुस गर्छु'
"हामी बिरामीको मृत्यु देख्दा आफैँ टुक्रिन्छौं। हाम्रो प्रयास असफल हुँदा हामी रातभर निद्राविहीन हुन्छौं। हामीलाई पैसाभन्दा बढी बिरामीको अनुहार, आमाको आँसु, बुबाको भरोसा महत्त्वपूर्ण लाग्छ," – डा. थानी भावुक हुँदै भन्छन्।
उनले थपे, "कहिलेकाहीं म घर फर्किँदा मन भारी हुन्छ, किनभने कुनै बालकको ज्यान बचाउन सकिनँ। तर त्यसमा मेरो नियत होइन, अवस्था जिम्मेवार हुन्छ। त्यसैले राज्यले नियत र परिस्थितिबीच छुट्याएर मूल्यांकन गर्नुपर्छ।"
जनताको विश्वास जोगाउन चिकित्सक र राज्य दुवै जिम्मेवार
"हामीले पनि आत्मावलोकन गर्नुपर्छ। कतै हामीले संवाद गर्न चुक्यौं किरु बिरामी र परिवारलाई रोगको प्रकृति, जोखिम र उपचार प्रक्रिया बारेमा पर्याप्त जानकारी दिन सकेनौं किरु त्यस्तै, राज्यले पनि कानुनी संरचना, नियमन र स्वास्थ्य नीति स्पष्ट बनाउनुपर्छ," डा. थानी सुझाउँछन्।
उनी भन्छन्, "स्वास्थ्य सेवा भनेको केवल उपचार मात्र होइन, विश्वासको सम्बन्ध हो। त्यसमा राज्य, चिकित्सक, बिरामी र समाज सबैको समान भूमिका हुन्छ।"
चिकित्सकहरूलाई डर होइन, प्रेरणा चाहिन्छ
डा. थानीको भनाइ छ “हामी डराएर काम गर्न सक्दैनौं। बिरामीको साससँग हाम्रो संकल्प जोडिएको हुन्छ। त्यसैले राज्यले चिकित्सकप्रति भरोसा, कानुनी स्पष्टता र कार्यगत सुरक्षा दिनुपर्छ। डाक्टरलाई डर होइन, प्रेरणा चाहिन्छ।”
देशको विकट क्षेत्र कर्णालीमा डा. थानी जस्ता डाक्टरहरू निस्वार्थ भावले सेवा दिइरहेका छन्। उनीहरूको मनोबल जोगाउने, कानुनी प्रक्रिया निष्पक्ष राख्ने र समन्वयात्मक वातावरण निर्माण नगरेसम्म चिकित्सा क्षेत्र अझै अप्ठ्यारो मोडमा पुग्ने खतरा देखिएको छ। स्वास्थ्य सेवा भन्नाले चिकित्सक र बिरामीबीचको विश्वास हो, त्यसलाई न्यायिक कठोरताभन्दा बढी मानवीयता र सम्वेदनशीलताबाट हेर्नु आजको आवश्यकता हो। यो मुलुकका विकट क्षेत्रका अस्पतालहरू डा। थानीजस्ता प्रेरणादायी डाक्टरहरूले मात्र बाँचिरहेका छन्। यस्ता चिकित्सकहरूलाई संरक्षण, प्रोत्साहन र सम्मान दिन सकिएन भने जनस्वास्थ्यको भविष्य असुरक्षित हुने निश्चित छ।
जीवन बचाउने सहकार्य स् एक समर्पित डाक्टर, एक नाम नखुल्ने दातृ
कर्णाली बालबालिका सहायता कोषमार्फत जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र कालिकोट जस्ता जिल्लाबाट आएका आर्थिक रूपमा कमजोर, जटिल समस्याबाट ग्रस्त बालबालिकाहरूलाई काठमाडौं, नेपालगञ्ज, भरतपुर लगायतका अस्पतालहरूमा रेफर गरी निःशुल्क उपचार गरिँदै आएको छ।
कोषमा प्राप्त सहयोग विशेषतः एकजना नाम नखुलाउने महिला दातृबाट निरन्तर उपलब्ध हुँदै आएको छ। “हामी उहाँलाई ‘दाता दिदी’ भन्छौं। उहाँको योगदान शब्दमा समेट्नै सकिन्न। लाखौं रुपैयाँ खर्च गर्नुभयो, तर अहिलेसम्म कुनै तस्बिर, नाम वा सम्मानको माग गर्नुभएन। उहाँ साँचिकै मानवताको प्रतिमूर्ति हुनुहुन्छ,” डा. थानी भावुक हुँदै भन्छन्।
उदाहरणीय केसहरू : हरेक बालकसँग जोडिएको जीवनको पुनरुत्थान
यहाँ केही विशिष्ट केसहरू उल्लेख गरिन्छन्, जसले यो कोषको प्रभावलाई गहिराइसँग देखाउँछ:
१. भगवती कामी (१३ वर्षीया, जुम्ला)
रोग: Rheumatic Heart Disease, Severe MR & TR
उपचार: शहीद गंगालालमा शल्यक्रिया, सफल उपचारपछि विद्यालय फर्किइन्।
२. तपस्या शर्की (१६ महिनाकी, तातोपानी)
रोग: मुटुरोग, महँगो औषधि Bosentan प्रयोग
औषधिको खर्च बीमा योजना अन्तर्गत नआए पनि कोषबाट उपचार सम्भव भयो।
३. गोलि रावत (१५ वर्षीया, पातारासी)
रोग: Rheumatic Heart Disease
शल्यक्रिया सफल, अहिले विद्यालयमा टपर।
४. रामिता कामी (५ वर्षीया, मुगु)
रोग: Guillain-Barré Syndrome
कोषबाट ७१ हजार रुपैयाँ बराबरको IVIG औषधि उपलब्ध, पाँचौं दिनदेखि हिँड्न थालिन्।
५. प्रविन कामी (३ वर्ष, सिञ्जा)
रोग: मुटुरोग
शल्यक्रिया भए पनि बच्चा बचेनन्, तर कोषले अन्तिम सम्भावना दिएको थियो।
६. कञ्चन कामी, सन्दरी बुढा, गिब्सन रावत
तीनवटै बच्चामा मुटुरोग पहिचानपछि गंगालाल रिफर, सफल उपचार।
७. जयराज कुलाल (१७ वर्ष, चन्दननाथ)
रोग: Disorder of Sex Development
कोषको सहयोगमा बिर्ता अस्पतालमा परीक्षण तथा उपचार।
८. अल्देन्द्र बडुवाल (१५ महिना, हुम्ला)
रोग: Empyema Thoracis
१६ दिनको अस्पताल बसाइमा सम्पूर्ण खाना र बसोबास खर्च कोषबाट।
सेवा मात्रै होइन, मानवीय चेतनाको पुनर्जागरण
यस्ता सहयोगहरूले न केवल बिरामी बचाउँछन्, उनीहरूका परिवारको मनोबल उठाउँछन्। एक आमाले भनिन्स् “डा. साब र दातृ दिदीले हाम्रो बच्चा मात्र बचाउनुभएन, हामीलाई फेरि बाँच्न सिखाउनुभयो।”
केवल उपचार होइन, आत्मबल पनि फर्काउने सेवा
कोषले गरेका कामहरू केवल औषधि र अपरेसनका लागि सीमित छैनन्। यसले भरोसा, आत्मसम्मान र आशाको पुनर्जन्म गराउँछ। डा. थानी भन्छन्-“कहिले बालकको सास रोकिएको थियो, आज ऊ स्कूल गएको छ। कहिले उपचार नपाएर निराश पिता रुँदै आएका थिए, आज उनी फोन गरेर धन्यवाद दिन्छन्।”
‘कसैले सुनेन, कसैले देखेन-तर बालक मुस्कुराए’
अनाम दाता, जसले आफ्नो नाम नदिई यत्रो काम गरिरहेकी छिन्(उनलाई साँचो अर्थमा समाजले नमन गर्नुपर्छ। लाखौं खर्च गर्ने, तर श्रेय माग्न कहिल्यै नचाहने । डा. थानी भन्छन्-“हाम्रो समाजमा धेरैजना दाताहरू हुन्छन्, तर यस्ता मौन दातृ दुर्लभ हुन्छन्। उहाँले देखाउनु भएको मौन दान, त्यसको प्रभाव अमूल्य छ।”
कर्णालीको उज्यालो भविष्यको लागि दुई ‘अनाम’ नायक
डा. कमल थानी र नाम नखुलाउने महिला दाताको यो सहकार्यले कर्णालीमा जीवन, आशा र उज्यालो फर्काउने अद्वितीय कार्य गरेको छ। यो प्रयास राज्यले देख्नुपर्छ, नीतिनिर्माताले सिक्नुपर्छ र समाजले सम्मान गर्नुपर्छ। यी दुई पात्रले देशका दूरदराजका बालबालिकालाई बाँच्ने मौका मात्र दिइरहेका छैनन्, नेपालको भविष्य उज्यालो बनाइरहेका छन्।