Swasthya Awaj
स्वास्थ्य बीमामा कूल बीमितमध्ये ६२.११ प्रतिशतले मात्र गरे नबिकरण, बीमा कार्यक्रमको सफलतामा प्रश्नचिन्ह

सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत संचालन भइरहेको स्वास्थ्य बिमा देशभरको मुलुकका ७७ वटै जिल्लामा पुगे पनि बिमामा आबद्ध हुने नेपालीको संख्या एकदमै न्यून रहेको छ। स्वास्थ्य बिमा संचालन भएको ८ बर्ष पुगि सकेको अवस्थामा  कुन जनसंख्याको जम्मा २६.५४ प्रतिशत जनसंख्या मात्रै आबद्ध भएका छन। स्वास्थ्य बीमा कहिले नीतिगत फेरबदल त कहिले समयमा भुक्तानी नगरेका कुराहरूले समस्या आईरयो । 

स्वास्थ्य बीमा सैद्धान्तिक रुपमा निकै नै राम्रो कार्यक्रम भए पनि पछिल्लो समय भने स्वास्थ्य बीमाप्रति आम नागरिकको आकर्षक बढ्न थालेको छ । जबकी यो कार्यक्रमहरूले आफ्नो दायरा विस्तार गर्दै ७७ जिल्लाबाट सेवा दिइरहेको छ । सर्वसाधारणको आकर्षण बढेपनि कूल बीमितमध्ये ६२.११ प्रतिशतले मात्र बीमा नवीकरण गरेको तथ्यांक स्वास्थ्य विमा बोर्डको छ । 

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले भने, अहिले नवीकरण गर्ने बेला आइरहेकोले नवीकरणको तथ्यांकमा कम देखिएको हो । साउनको पहिलो साताको तथ्यांक हेरेपछि यो तथ्यांक बढी देखिन्छ ।’

त्यस्तैगरि स्वास्थ्य बीमा बोर्डका सदस्य डा. मुक्तिराम श्रेष्ठ स्वास्थ्य बीमाको काम नै छैन भनेर हल्ला फैलाइएकोले बीमा प्रतिको आकर्षण घटेको दाबी गर्छन् । डा. श्रेष्ठ भन्छन्, ‘स्वास्थ्य बीमा कार्यक्रम काम नै छैन भन्ने सर्वसाधारणमा हल्ला फैलाइएको छ । स्वास्थ्य बीमाको विकल्प स्वास्थ्य बीमा हो । यसले गर्दा स्वास्थ्य बीमाको सकारात्मक प्रचार गर्नु पर्छ ।’ डा. श्रेष्ठले भने, हामीबाट पनि केही कमजोरी भएको होलान यसलाई हामीले सुधार गर्दै लैजान्छौँ ।’

चालू आर्थिक वर्षकै मात्र पनि स्वास्थ्य बीमा बोर्डले विभिन्न स्वास्थ्य संस्थाहरूलाई ३ अर्ब ८४ करोड ८८ लाख ६९ हजार ६९१ रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यो आर्थिक वर्षको फागुन १० गतेसम्ममा ६ अर्ब ४४ करोड १६ लाख ९९ हजार ७५५ रुपैयाँ भुक्तानी गरिसकेको बोर्डको तथ्यांकले देखाउँछ । यसरी समयमै भुक्तानी गर्न नसक्नुको कारणबारे बोर्डका सदस्य डा. श्रेष्ठ भन्छन्, ‘स्वास्थ्य बीमामा धेरै छरिएर खर्च भएको छ । सात आठ ठाउँबाट काम भइरहेको छ । एकद्धार प्रणाली लागू हुने हो स्वास्थ्य बीमामा आएका समस्या समाधान गर्न सकिन्छ ।’

डा. बसौलाका अनुसार सेवा प्रदायक स्वास्थ्य संस्थाहरूबाट पेश भएका दाबीहरूलाई एक स्वतन्त्र दाबी पुनरावलोकन समिति बनाई पुनरावलोकन गर्ने काम भइरहेको छ ।बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले स्वास्थ्य बीमा कार्यक्रम असफल नै भने भइनसकेको बताउँछन् । डा. लोहनी भन्छन्, ‘स्वास्थ्य बीमा कार्यक्रम पुरै फेल भएको होइन, एउटा टायर मात्र पञ्चर भएको हो । त्यसलाई मर्मत गरेर अगाडी बढ्न खोजिरहेका छौँ । सबै टायर गयो भनेर हामी बसेका छैनौँ ।’

सुरुवातमा जसरी गरिएको थियो त्यो अनुसार बीमा कार्यक्रम अगाडी बढ्न नसकेको डा. लोहनीले स्वीकार गरे । डा. लोहनीले आगामी वर्ष सम्ममा स्वास्थ्य बीमा कार्यक्रम सुधार गरेर जाने प्रतिबद्धता जनाए । डा. लोहनीका अनुसार बीमा कार्यक्रमले पूर्णता पाएको भए पनि कार्यक्रमको सुदृढीकरण र दिगो व्यवस्थापनका लागि अझै विभिन्न चुनौतीहरू रहेका छन् । सेवा प्रदायक स्वास्थ्य संस्थाले जवाफदेखि भएर सेवा प्रवाह गर्ने, बीमित नागरिकहरुले सहजतापूर्वक सेवा प्राप्त गर्ने र बोर्डले उचित नियमन तथा तोकिएको समयमा दाबी भुक्तानी गर्ने व्यवस्था मिलाइ गुनासोरहित कार्यक्रम सञ्चालन गर्नु आजको आवश्यकता रहेको छ ।

सरकारले २०७२ चैत २५ गतेदेखि सामाजिक स्वास्थ्य सुरक्षाकारुपमा स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको थियो । यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्दै आएको छ । स्वास्थ्य बीमाको सुविधा पाउन पाँच जनासम्मको परिवारका लागि वार्षिक ३ हजार ५०० रुपैयाँ प्रिमियम रकम तिर्नु पर्छ । परिवारको सदस्य पाँच भन्दा बढी भए थप ७०० रुपैयाँ प्रिमियम तिर्नु पर्ने हुन्छ ।

स्वास्थ्य बीमितले निःशुल्क सेवा लिन शुरूमा बोर्डसँग बीमाको प्राथमिक केन्द्रका रूपमा सम्झौता गरेको नजिकको स्वास्थ्य संस्था जानुपर्छ । त्यहाँ उपचार हुन नसके चिकित्सकले बीमा कार्यक्रम लागू रहेको अर्को अस्पतालमा प्रेषण गरिदिनुपर्छ। बीमा दुरुपयोग नहोस् भनेर सरकारले लक्षित वर्ग बाहेकलाई उपचारमा लागेको कुल खर्चको १० प्रतिशत बीमितले नै बेहोर्नुपर्ने गरी सह भुक्तानी प्रणाली अपनाएको देखिन्छ ।

स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म कूल बीमित परिवारको सङ्ख्या २३ लाख ९२ हजार ६७६ पुगेको छ । जसमा बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार ४८३ जनाले स्वास्थ्य बीमा गरेका छन् । जसमध्ये सेवा लिने बीमितको सङ्ख्या ३६ लाख ५२ हजार ४३२ रहेको छ । काठमाडौं उपत्यकाको बुढानीलकण्ठ नगरपालिकामा हालसम्म स्वास्थ्य बीमा लागु भएको छैन । यस पालिकामा पनि छिट्टै नै स्वास्थ्य बीमा कार्यक्रम लागू गर्नेगरि काम भइरहेको बोर्डले जनाएको छ ।

हाल ७७ जिल्लाका ७५२ वटा स्थानीय तहमा बीमा सेवा विस्तार भएको छ । यही चैत्र १८ गतेसम्मको तथ्यांक हेर्दा अति गरिब बीमितको सङ्ख्या ५ लाख १४ हजार ६१८ रहेको छ भने ज्येष्ठ नागरिक बीमितको सङ्ख्या ९ लाख ३० हजार ३९७ रहेको छ । त्यस्तैगरी एचआइभी सङ्क्रमित बीमितको संख्या ३८ हजार ८८१, अति अशक्त अपाङ्ग बीमितको सङ्ख्या १ लाख ४१ हजार २२३ र कुष्ठरोग सङ्क्रमित बीमितको सङ्ख्या ३ हजार ६८५ रहेको छ । यसका साथै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका बीमितको सङ्ख्या १ लाख ३२ हजार ५६७ रहेको बोर्डले जनाएको छ ।

बोर्डले गरिब, ज्येष्ठ नागरिक, एचआईभी सङ्क्रमित, कुष्ठरोगी, बहुऔषधि प्रतिरोधी क्षयरोग र अति अशक्त अपाङ्गता भएका व्यक्तिको परिवारका लागि शतप्रतिशत र महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई ५० प्रतिशत छुटको व्यवस्था पनि रहेको छ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update