
हुम्ला २०८२ साउन ११- हुम्लाको सिमकोट गाउँपालिका-८ याङगु गाउँका ५६ वर्षीय धनवीरे कामीलाई छ वर्षपछि छाउगोठबाट उद्धार गरिएको छ। कुष्ठरोगको आशङ्कामा समाजबाट अलग गरिएका कामीको हाल जिल्लास्थित अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख नारायण पाण्डेयको समन्वयमा शनिबार जिल्ला अस्पतालको टोली गाउँमै पुगेको थियो। स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. उमाकान्त तिवारीका अनुसार, कामीलाई एम्बुलेन्समार्फत अस्पताल ल्याएर उपचार थालिएको हो।
डा. तिवारीले भनेका छन्, “कामीलाई आफन्तले कुष्ठरोगी भनेका थिए, तर प्रारम्भिक परीक्षणमा कुष्ठरोग नभएको पुष्टि भएको छ। यद्यपि, अन्य परीक्षणपछि मात्र उनको रोगको यकिन गर्न सकिनेछ।” कामी विगत ६ वर्षदेखि गाउँको छाउगोठमा एक्लै जीवन बिताइरहेका थिए। उनका आफन्त र गाउँलेहरूले उनलाई कुष्ठरोग लागेको भन्दै अन्धविश्वासका कारण घरभित्र राख्न मानेका थिए।
शारीरिक रूपमा कमजोर र अपाङ्गता देखिएका कामीका हातखुट्टाका औंला बाङ्गिएका छन्, शरीरका केही भाग नचल्ने अवस्थामा छन्, र हिँडडुल गर्नसमेत नसक्ने अवस्था रहेको डाक्टरहरूले जनाएका छन्। कामीको स्याहारका लागि उनका भाइहरूले महिनावारी पालोमा हेरचाह गर्दै आएका थिए। तर गाउँलेहरूको सामाजिक दबाबका कारण उनीहरू उनलाई घरभित्र ल्याउन नसकेको परिवारले बताएका छन्।
छाउगोठमा बिताएका वर्षहरू निकै पीडादायी रहेको उनका आफन्त जसपाल कामीले बताएका छन्। “उहाँले भोक, चिसो र पीडासँग जुध्दै जीवन चलाउनु परेको थियो,” उनले भनेका छन्। जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार कामीको सम्पूर्ण उपचार खर्च निःशुल्क गरिनेछ। डा. तिवारीका अनुसार उनलाई आवश्यक परे अन्यत्र रिफर गर्ने व्यवस्था पनि मिलाइनेछ।
धनवीरे कामीको कथा केवल एक व्यक्तिको पीडा होइन, यो गाउँ-समाजमा अझै विद्यमान अन्धविश्वास, स्वास्थ्य चेतनाको अभाव र मानवताको उपेक्षाको ज्वलन्त उदाहरण हो। समयमै हस्तक्षेप र सरकारी निकायको सक्रियताले कामीलाई जीवन फर्काइदिएको छ, तर यस्ता घटनाहरू दोहोरिन नदिन व्यापक जनचेतना र स्वास्थ्य पहुँच विस्तार आवश्यक देखिन्छ।
यस अधि स्वास्थ्य आवाजले समाचार छापेपछि सबैको नजर पुगेको थियो ।
यो पनि हेर्नुहोस