Swasthya Awaj
स्वास्थ्य बीमा मार्फत सरकारी सहायता उपलब्ध गराउने तयारी, सुझाव दिन मन्त्री पौडेलद्वारा समिति गठन

काठमाडौँ, २०८२ श्रावण ८- विपन्न नागरिकका लागि प्रदान गरिँदै आएको सरकारी उपचार सहायतालाई अब स्वास्थ्य बीमा प्रणालीमार्फत एकीकृत रूपमा उपलब्ध गराउने तयारी थालिएको छ। यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक विज्ञ समिति गठन गरेका छन्।

समितिलाई एक हप्ताभित्र कार्यान्वयनका लागि आवश्यक सुझाव पेश गर्न निर्देशन दिइएको छ। मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत जनाउँदै लेखेका छन्, “सरकारी उपचार सहायता अब स्वास्थ्य बीमामार्फत दिने गरी संरचनागत र नीतिगत सुधारको प्रक्रिया सुरु गरिएको छ।”

TB

यसअघि आठ प्रकारका जटिल रोगहरूको उपचारमा बीमा सहायता दोब्बर बनाइएको निर्णय कार्यान्वयनमा आइसकेको छ। नयाँ संरचनाले बीमा सुविधा प्राप्त गर्नेहरूलाई थप लाभ पुग्ने विश्वास मन्त्री पौडेलको छ।

स्वास्थ्य बीमा प्रणाली सुधार गर्न मन्त्रालयले बीमा सेवा सुरू भएको मितिबाट एक महिनाभित्र लाभ लिन सकिने व्यवस्था लागू गर्ने निर्णय गरिसकेको छ। यसअघि तीन महिनाको प्रतीक्षा अवधि रहेकोमा अब एक महिनामै सेवा सुरु हुनेछ। साथै, प्रत्येक स्थानीय तहमा बीमाको पहिलो सेवा बिन्दु कायम गरिने योजना समेत अघि सारिएको छ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले सरकारी सहायता बीमासँग समायोजन भएपछि कार्यक्रमको आम्दानी र सेवा दुवैमा वृद्धि हुने बताएका छन्। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, चालु आर्थिक वर्षभित्रै स्वास्थ्य बीमासम्बन्धी सबै बक्यौता चुक्ता गरिने छ, जसले सेवा प्रदायकलाई भुक्तानीका विषयमा देखिँदै आएको समस्या हल गर्ने अपेक्षा गरिएको छ।

सरकारको यो कदमले खासगरी आर्थिक रूपमा कमजोर वर्गका नागरिकहरूलाई स्वास्थ्य सेवा प्राप्तिमा थप सहजता ल्याउने विश्वास गरिएको छ।

प्रकाशित मिति: बिहीबार, साउन ९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update