Swasthya Awaj
नक्कली औषधी बनाउने गिरोह काठमाडौँमा रंगेहात फेला, अनुसन्धानमा प्रहरी

काठमाडौँ, २०८२ श्रावण ७- काठमाडौँको रामकोट क्षेत्रमा अवैध रूपमा नक्कली औषधी उत्पादन गर्दै आएको एक गिरोहलाई औषधी व्यवस्था विभाग र नेपाल प्रहरीले संयुक्त छापामा फेला पारेका छन्।

औषधी व्यवस्था विभागका अनुसार यो गिरोहले एक कोठा भाडामा लिएर नक्कली औषधी उत्पादन गरी सामाजिक सञ्जालमार्फत विक्री वितरण गरिरहेको थियो। विभागका बरिष्ठ औषधी व्यवस्थापक किरण बज्राचार्यका अनुसार पछिल्लो सातादेखि निगरानीमा राखिएको उक्त स्थानमा आज बिहान छापा मारिएको हो।

TB

सौन्दर्य र यौन क्षमता वृद्धिको नाममा भ्रम
उक्त गिरोहले "सेक्स पावर बढाउने", "स्तन ठूलो बनाउने", "तौल घटाउने" जस्ता आकर्षक नारासहित अनलाइन विज्ञापन गरेर औषधीजस्तो देखिने धुलो, क्याप्सुल र बट्टामा प्याक गरिएका उत्पादन विक्री गर्दै आएको पाइएको छ।

“हामीले अवैध औषधी उत्पादन गर्ने मुख्य स्थान फेला पारेका छौं,” बज्राचार्यले बताए, “तर गिरोहको मुख्य अभियुक्त एलबी राई भने अहिले फरार छन्।”

उत्पादनमा आयुर्वेदिकको आवरण
छापाका क्रममा प्रहरीले ठूलो मात्रामा नक्कली औषधी बरामद गरेको छ जसलाई आयुर्वेदिक औषधीको नाममा आकर्षक प्याकेजिङमा विक्री गरिँदै आएको थियो। बरामद औषधीको प्रयोग मानव स्वास्थ्यका लागि घातक हुन सक्ने भन्दै विभागले सतर्कता अपनाउन सर्वसाधारणमा अपिलसमेत गरेको छ।

अनुसन्धान जारी, अन्य संलग्नको खोजी
प्रहरीको सहयोगमा थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानले यो गिरोह विगत केही महिनादेखि राजधानीमा सक्रिय रहेको संकेत दिएको छ। अन्य संलग्न व्यक्तिहरूको खोजी तथा पक्राउको प्रक्रिया अगाडि बढाइएको छ।

स्वास्थ्य सेवा ऐन र औषधीसम्बन्धी कानुनअनुसार यस्ता गैरकानुनी गतिविधिमा संलग्नहरूलाई कडा कारबाही हुने चेतावनी पनि विभागले दिएको छ।

प्रकाशित मिति: बुधबार, साउन ८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update