Swasthya Awaj
मलंगवा अस्पतालमा डाक्टरमाथि दुर्व्यवहार, ओपिडी सेवा ठप्प भएपछि बिरामी मर्कामा

सर्लाही, २०८२ श्रावण ६- सर्लाहीको मलंगवा स्थित प्रादेशिक अस्पतालमा कार्यरत एक वरिष्ठ चिकित्सकमाथि दुर्व्यवहार भएको घटनाले अस्पतालको सेवा नै प्रभावित भएको छ। सोमबार राति आकस्मिक कक्षमा कार्यरत हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. कृष्ण जंग शाहमाथि बिरामीका आफन्तले अभद्र व्यवहार गरेपछि अस्पताल प्रशासनले आकस्मिकबाहेक सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ।

घटनापछि अस्पतालले दोषीमाथि छानबिन र कारबाही नभएसम्म ओपिडी सेवा पुनः सञ्चालन नगर्ने निर्णय गरेको छ। प्रशासनले बिरामीहरूलाई पर्न गएको असुविधाप्रति खेद व्यक्त गर्दै सुरक्षाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

TB

नेपाल चिकित्सक संघले पनि घटनाको विरोध गर्दै राज्य नै स्वास्थ्यकर्मीको सुरक्षामा चुकेको आरोप लगाएको छ। संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीका अनुसार ऐनकानुन हुँदाहुँदै पनि प्रभावकारी कार्यान्वयन नहुँदा यस्ता घटनाहरू बढेका छन्।

“राजनीतिक हस्तक्षेप, गुण्डागर्दी र लापरवाहीका कारण चिकित्सकहरू आफ्नो ज्यानको जोखीममा सेवा दिन बाध्य छन्,” उनले भने, “दुर्गम सेवा दिन गएका डा. शाहमाथि यस्तो व्यवहार हुनु लाजमर्दो हो।”

उनले स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, स्थानीय तह तथा सुरक्षा निकायहरू सबैलाई स्वास्थ्यकर्मीको सुरक्षामा गम्भीर हुन आग्रह गरेका छन्।

चिकित्सक संघका अनुसार पछिल्ला दिनहरूमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार बढिरहेको छ। उनीहरूले दोषीलाई उन्मुक्ति दिने प्रवृत्तिले झनै समस्या गम्भीर बन्दै गएको बताएका छन्। संघले यस्ता घटनालाई निर्मूल पार्न ऐनको तत्काल कार्यान्वयन र दोषीमाथि कडा कारबाहीको माग समेत गरेको छ।

यस घटनाले दुर्गम क्षेत्रका अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीको मनोबलमा गहिरो असर पार्ने देखिएको छ। स्थानीय तहबाट आवश्यक सुरक्षा नपाएसम्म यस्ता समस्या दोहोरिन सक्ने भन्दै स्वास्थ्यकर्मी समुदाय सतर्क रहनुपर्ने बताइएको छ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update