
काठमाडौँ, २०८२ श्रावण ६- देशका चार प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानमा महिनौँदेखि उपकुलपति नियुक्ति हुन सकेको छैन । चैत महिनादेखि रिक्त रहेका बीपी कोइराला, पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू अझैपनि निमित्त उपकुलपतिहरूकै भरमा सञ्चालित छन् ।
स्वास्थ्य मन्त्रालयले नेतृत्वविहीन रहेका प्रतिष्ठानलाई व्यवस्थापन गर्ने ढोका खुल्ला भएको भए पनि, यसको निष्कर्ष निकाल्न अझै समय लाग्ने संकेत देखिएको छ । सोमबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा एक वर्षे उपलब्धि सार्वजनिक गरिए पनि प्रतिष्ठानका रिक्त उपकुलपति नियुक्तिको विषयमा मन्त्रीले अग्रसरता देखाएनन् ।
सञ्चारकर्मीहरूले सोधपुछ गरेपछि मन्त्री प्रदीप पौडेलले छोटकरीमा प्रतिक्रिया दिँदै भनेका छन्, "मेरिटको आधारमा छिटो टुंगोमा पुग्ने हाम्रो प्रयास छ । विगतमा नेतृत्वबीचको असमझदारीले संस्थाहरूले चाहेजस्तो गति लिन सकेनन् । अब योग्य र प्रभावकारी नेतृत्व ल्याउनेतर्फ लागेका छौं ।"
स्वास्थ्य सचिव डा. विकास देवकोटाले पनि नियुक्ति प्रक्रिया ढिलो हुनुको कारण प्रष्ट पार्दै भनेका छन्, "उम्मेदवारहरूले दिएको विवरण अध्ययन गर्न समय लागेको हो । साथै समितिका सदस्यहरूको तालमेल नमिल्दा पनि प्रक्रिया प्रभावित भयो ।"
प्रधानमन्त्री एवम् प्रतिष्ठानहरूको कुलपति केपी शर्मा ओलीले जेठ १४ गते उपकुलपति सिफारिस समिति गठन गरेका थिए । मन्त्री पौडेलको संयोजकत्वमा बनेको उक्त समितिमा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी विच्छा र स्वास्थ्य सचिव डा. देवकोटा सदस्य छन् ।
समितिले असार ४ गते सूचना प्रकाशित गर्दै इच्छुक उम्मेदवारहरूलाई सात दिनभित्र आवेदन दिन आह्वान गरेको थियो । सोही अनुसार बीपी प्रतिष्ठानमा १३, पाटनमा १०, पोखरामा १७ र कर्णाली प्रतिष्ठानमा १५ जनाले उम्मेदवारी दिएका छन् ।
तर आवेदन परेको धेरै हप्ता बितिसक्दा पनि समितिले सिफारिस अगाडि बढाउन सकेको छैन । अब नियुक्तिको जिम्मेवारी बोकेको स्वास्थ्य मन्त्रालय र मन्त्री पौडेलको तत्परताले मात्र यो अन्योलको अन्त्य गर्न सक्छ भन्ने बुझिएको छ ।