Swasthya Awaj
सरकारको कडाइ : डेंगी नियन्त्रण र विपद् व्यवस्थापनमा बिदा रोक

काठमाडौँ, २०८२ श्रावण ६- देशभर डेंगी संक्रमण फैलिने जोखिमलाई ध्यानमा राख्दै सरकारले तीन महिनासम्म विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। साउनदेखि असोजसम्म सञ्चालन हुने अभियानमा लामखुट्टेको बासस्थान खोजेर नष्ट गर्नेदेखि स्वास्थ्य सचेतना कार्यक्रमसम्मका गतिविधिहरू समेटिनेछन्।

सचिवहरुको बैठकबाट आएको निर्देशनअनुसार, तीनै तहका कर्मचारीहरूलाई अत्यावश्यक कामबाहेक कार्यस्थल नछाड्न भनिएको छ। विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन बिदामा बस्नसमेत रोक लगाइएको छ। जिल्ला कार्यालयका प्रमुखहरूलाई प्रमुख जिल्ला अधिकारीसँग समन्वय नगरी बिदा नबस्न निर्देशन दिइएको छ।

TB

डेंगी नियन्त्रण अभियान बिहान ९:३० बजेदेखि सरसफाइ र जनचेतना कार्यक्रममार्फत सञ्चालन गरिनेछ। विशेषगरी जमेको पानी हटाउने, लामखुट्टेको लार्भा नष्ट गर्ने र जोखिमयुक्त क्षेत्रहरूमा सतर्कता बढाउने काममा केन्द्रित हुने बताइएको छ।

मनसुनमा डेंगीको जोखिम निकै उच्च हुने भएकाले यस्तो कदम चालिएको हो। २०६१ सालदेखि सुरु भएको डेंगी संक्रमण २०८० मा ७७ वटै जिल्लामा फैलिएको थियो। यसै सन्दर्भमा २०८१ मा जारी गरिएको कार्ययोजनाअनुसार अहिले अभियान तीव्र बनाइएको हो।

साथै सर्पदंशबाट हुने मृत्युदर घटाउन पनि स्वास्थ्य मन्त्रालयले सचेतना र प्रभावकारी उपचार व्यवस्थापनका कार्यक्रम अघि बढाउने जनाएको छ। अभियानमा सुरक्षा निकाय, रेडक्रस, गैरसरकारी संस्था तथा स्थानीय समुदायको समेत सक्रिय सहभागिता रहनेछ।

सरकारले विपद् व्यवस्थापनमा गृहमन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा सम्पूर्ण प्रयास केन्द्रित गर्ने स्पष्ट पारेको छ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update