काठमाडौँ, २०८२ श्रावण ६- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको पछिल्लो अभिव्यक्तिले मुलुकभर कार्यरत स्वास्थ्यकर्मीहरूलाई आक्रोशित बनाएको छ। मन्त्री पौडेलले देउराली प्राथमिक अस्पतालको उद्घाटन समारोहमा दिएका टिप्पणीप्रति राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल र हेल्थ असिस्टेन्ट संघ नेपालले एक स्वरमा गम्भीर आपत्ति जनाएका छन्।
मन्त्री पौडेलले "गर्मीमा चिसो ताप्ने र जाडोमा घाम ताप्ने केन्द्र" बनेको आरोप स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै दिएका थिए, जसलाई दुवै संस्थाले तथ्यविहीन, गैरजिम्मेवार र अपमानजनक बताउँदै सार्वजनिक खण्डन गरेका छन्।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले विज्ञप्तिमा भनेको छ, "स्वास्थ्य सेवा प्रणालीको मेरुदण्ड बनेका हजारौं स्वास्थ्यकर्मीको योगदानलाई बेवास्ता गर्दै मन्त्री पौडेलले गरिमा र सम्मानमा आघात पुर्याउने शब्द प्रयोग गर्नुभयो, जुन अस्वीकार्य छ।" उनीहरूले स्मरण गराएका छन् कि देशका दुर्गम, जोखिमयुक्त तथा विपद् प्रभावित क्षेत्रमा समेत स्वास्थ्यकर्मीहरूले आफ्नो ज्यान जोखिममा राखेर सेवा दिँदै आएका छन्।
यस्तै, हेल्थ असिस्टेन्ट संघ नेपालले पनि मन्त्री पौडेलको टिप्पणीप्रति कडा असन्तुष्टि प्रकट गर्दै उक्त अभिव्यक्ति तत्काल फिर्ता लिन र माफी माग्न आग्रह गरेको छ। संघका अनुसार स्थानीय तहदेखि संघीय तहसम्म स्वास्थ्यकर्मीहरूको भूमिका महामारी नियन्त्रणदेखि प्राथमिक उपचार, खोप, पोषण, मातृ–शिशु स्वास्थ्य सेवामा अमूल्य रहेको छ।
विज्ञहरूले समेत स्वास्थ्य नेतृत्वप्रति प्रश्न उठाउँदै ‘राजनीतिज्ञहरू समयमै परिवर्तन नगरिए दुर्गन्ध आउँछ’ भन्ने चर्चित भनाइ उद्धृत गर्दै, स्वास्थ्य मन्त्रालयमा सुधार ल्याउन नेतृत्वमै परिवर्तन आवश्यक रहेको संकेत गरेका छन्।
दुवै संस्थाले यदि मन्त्रीले अभिव्यक्ति नसच्याए चरणबद्ध रूपमा विरोध कार्यक्रम सुरु गरिने चेतावनीसमेत दिएका छन्। आन्दोलनका कारण स्वास्थ्य सेवा प्रवाह प्रभावित हुने सम्भावनासमेत देखिएको छ।
स्वास्थ्यकर्मीको मनोबल घटाउने, मेहनत बेवास्ता गर्ने र जिम्मेवार पदमा बसेर गैरसंवेदनशील अभिव्यक्ति दिनु मन्त्री प्रदीप पौडेलको असफल नेतृत्वको संकेत हो भन्ने धारणा व्यापक बन्दै गएको छ। यदि स्थिति समयमै सच्याइएन भने यसले स्वास्थ्य क्षेत्रको प्रभावकारिता र जनविश्वासमा गम्भीर क्षति पुर्याउन सक्ने सम्भावना देखिन्छ।




