काठमाडौँ, २०८२ साउन ५- देशका विभिन्न जिल्लामा खटिएका स्थानीय तहका स्वास्थ्यकर्मीप्रति स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सार्वजनिकरूपमा दिएको अभिव्यक्तिपछि स्वास्थ्य क्षेत्रको वातावरण तनावग्रस्त बनेको छ। नवलपुरको गैडाकोटमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले “गर्मीमा शितल, जाडोमा घाम ताप्ने” शैलीमा स्वास्थ्यकर्मीको आलोचना गरेपछि चर्को विरोध सुरु भएको हो।
गैडाकोटस्थित विजयविकास स्रोत केन्द्रको ४७ औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको मधुमेह परीक्षण तथा जनचेतना शिविरको उद्घाटन समारोहमा मन्तव्य दिँदै मन्त्री पौडेलले भनेका थिए, “म मन्त्री नै भए पनि मैले अफ्टेरो नमानीकन भनेको छु "स्वास्थ्यचौकीका कर्मचारीहरु गर्मीमा शितल ताप्ने, जाडोमा घाम ताप्ने गर्नुहुन्छ।”
उनको यही अभिव्यक्तिका कारण स्वास्थ्य क्षेत्रका अग्रज, पूर्व प्रशासक, चिकित्सक तथा सेवाप्रदायक संस्थाहरूले गहिरो असन्तुष्टि जनाएका छन्। आलोचकहरूका अनुसार यो टिप्पणी स्वास्थ्यकर्मीहरूप्रति उपेक्षा र अपमानको भावले भरिएको छ, जसले तल्लो तहका जनस्वास्थ्य सेवामा खटिने कर्मचारीको मनोबललाई गम्भीर असर पुर्याएको छ।
विशेषज्ञ र पूर्व प्रशासकहरूको प्रतिक्रिया
मन्त्रीको भाषण पछि पहिलो प्रतिक्रिया दिएका व्यक्ति मध्ये एक हुन् स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. महेन्द्रप्रसाद श्रेष्ठ। उनले स्पष्ट रुपमा भनेका छन्, “यो टिप्पणी स्वास्थ्यकर्मीको अपमान हो। द्वन्द्वकालको समय, महामारीका चुनौती, र दुर्गम भेगका असुविधा भोग्दै काम गर्ने कर्मचारीप्रति यसरी औँला ठड्याउनु गैरजिम्मेवार व्यवहार हो।”
डा. श्रेष्ठका अनुसार मिलेनियम डेभलपमेन्ट गोल (एमडीजी) अन्तर्गत नेपालले सबैभन्दा राम्रो प्रगति गरेको क्षेत्र स्वास्थ्य नै हो, जुन उपलब्धिमा स्थानीय तहका स्वास्थ्यकर्मीहरूको योगदान निर्णायक रहँदै आएको छ।
पूर्व अतिरिक्त स्वास्थ्य सचिव डा. गुणराज लोहनीले मन्त्रीको भनाइलाई ‘नैतिक कमजोरी ढाकछोप गर्ने प्रयत्न’ को संज्ञा दिएका छन्। उनले भने, “जग बलियो नभएको भए स्वास्थ्य प्रणालीले महामारी, दैवी प्रकोप र द्वन्द्व सामना गर्न सक्दैनथ्यो। तल्लो तहका कर्मचारीहरू आधारभूत सेवाको मेरुदण्ड हुन्।”
अर्का पूर्व प्रशासक डा. गुणराज अवस्थीले स्वास्थ्य सेवामा खटिने जनशक्तिलाई अभिभावकविहीन जस्तो व्यवहार देखाएको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन्। “गाउँगाउँमा स्वास्थ्यकर्मीको उपस्थितिले नै द्वन्द्वकालमा राज्यको उपस्थिति देखिएको थियो,” उनले भने। “पोलियो नियन्त्रणदेखि सुरक्षित मातृत्वसम्मका उपलब्धिमा उनीहरूको त्यागलाई नदेखेर कामै नगरेको भन्नु दुर्भाग्यपूर्ण छ।”
पेशागत संगठनहरूको तयारी र दबाब
मन्त्रीको अभिव्यक्तिपछि नेपाल स्वास्थ्यकर्मी संघ, स्वास्थ्य सेवा कर्मचारी संगठन, तथा अन्य पेशागत समूहहरूले लिखित आपत्ति पत्र तयार गरिरहेको जानकारी प्राप्त भएको छ। उनीहरूले यस प्रकारको अभिव्यक्तिलाई तत्काल सच्याउन मन्त्री पौडेललाई सार्वजनिक रूपमा खण्डन गर्न र क्षमायाचना गर्न आह्वान गर्ने तयारीमा छन्।
स्वास्थ्य क्षेत्रमा खटिने कर्मचारीहरू महामारीको समयमा अत्यधिक जोखिममा काम गरेका थिए। उनीहरूको योगदानलाई दृष्टिगत गर्दै, कतिपय नेताहरूले पनि मन्त्रीको भाषणलाई ‘बेमौसमी आलोचना’ भनेका छन्।
मन्त्रीको शैलीप्रति पुरानै गुनासो
राजनीतिक वृत्तमा मन्त्री प्रदीप पौडेल बोल्ने क्रममा चिप्लिने प्रवृत्तिका कारण चिनिन्थे। उनले यसअघि पनि यस्ता विवादास्पद अभिव्यक्तिहरू दिएका थिए जसलाई पछि गम्भीर आलोचनापछि सच्याएका थिए। यसपटक पनि उनले सार्वजनिक माफी माग्ने वा आफ्नो भनाइ स्पष्ट पार्ने छन् कि छैनन् भन्नेबारे आम चासो बढेको छ।
जनताको स्वास्थ्य सुरक्षामा अहोरात्र खटिने स्वास्थ्यकर्मीप्रति सार्वजनिक मञ्चबाट यस्तो अवमूल्यनजन्य टिप्पणी हुनु आफैंमा सरकारको नीति र दृष्टिकोणप्रति प्रश्न उठाउने विषय बनेको छ। सस्तो लोकप्रियता र मञ्चीय भाषणकै कारण यदि कर्मचारीहरूको मनोबल कमजोर पार्ने हो भने त्यसले समग्र स्वास्थ्य प्रणालीमा असर पुर्याउने विज्ञहरूको ठम्याइ छ।
अबको जिम्मेवारी मन्त्री पौडेलकै काँधमा छ आफ्नो भनाइप्रति स्पष्टता ल्याउने, आवश्यक परे क्षमा माग्ने र तल्लो तहसम्म काम गर्ने स्वास्थ्यकर्मीहरूलाई उचित सम्मान दिने।




