Swasthya Awaj
चितवनमा तीन महिनामा झण्डै ३०० जना सर्पदंशका बिरामी, संक्रमितको संख्यामा वर्षासँगै वृद्धि

काठमाडौँ, २०८२ साउन ५- चितवनस्थित भरतपुर अस्पतालमा पछिल्लो तीन महिनाको अवधिमा २९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ। वर्षायाम सुरु भएसँगै सर्पदंशका घटनामा उल्लेख्य वृद्धि देखिएको अस्पताल स्रोतले जनाएको छ।

अस्पतालको आकस्मिक कक्षका इन्चार्ज अलाउद्दिन मियाका अनुसार, वैशाख महिनामा ६० जना, जेठमा १०५ जना र असार महिनामा १२६ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ। तीमध्ये जेठमा ५ जना र असारमा ९ जना विषालु सर्पले टोकेका बिरामी रहेका छन्।

TB

विषालु सर्पको टोकाइबाट बिरामीको स्नायु प्रणाली वा रक्त प्रणालीमा गम्भीर असर पर्ने चिकित्सकहरूले बताएका छन्। करेत, कोभ्रा, गोमन र भाइपरजस्ता सर्पहरूलाई विषालु श्रेणीमा राखिएको छ। करेत, कोभ्रा र गोमनले टोक्दा स्नायुतन्त्रमा असर पार्ने गरेकामा भाइपरले रगतमा असर गर्ने गर्छ।

विषालु सर्पले टोकेका बिरामीलाई अस्पतालको सघन उपचार कक्षमा राखी उपचार गरिने गरिएको छ भने अन्य सर्पदंशका बिरामीलाई आकस्मिक कक्षमै निगरानीमा राखेर उपचार गरिँदै आएको छ। अस्पतालमा आएका बिरामीलाई सामान्यतया कम्तीमा ६ घण्टा निगरानीमा राखेर लक्षणअनुसार औषधोपचार गरिन्छ।

भरतपुर अस्पतालमा चितवनबाहेक मकवानपुर, नवलपरासी (बर्दघाट-सुस्ता पूर्व), तनहुँ, गोरखा र लम्जुङजस्ता जिल्लाबाट समेत सर्पदंशका बिरामी आउने गरेका छन्। हाल दैनिक १० देखि १२ जना बिरामी अस्पतालमा उपचारका लागि पुग्ने गरेका छन्।

अस्पताल प्रशासनले वर्षायाममा सर्पदंशको जोखिम बढ्ने भएकाले सतर्क रहन र सर्पको टोकाइ भएमा यथाशीघ्र अस्पताल जान सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति: सोमबार, साउन ६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update