Swasthya Awaj
डेङ्गीका कारण सुर्खेतमा चार जनाको ज्यान गयो, तीन नगरपालिका उच्च जोखिममा

काठमाडौँ, २०८२ साउन ५- सुर्खेत जिल्लामा डेंगु संक्रमणको दर बढ्दो क्रममा देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्र जिल्लाभर एक हजार ८३७ जनामा संक्रमण पुष्टि भएको छ, जसमा चार जनाको मृत्यु समेत भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ।

डेंगु रोग नियन्त्रणका सम्पर्क व्यक्ति उदय बिसीका अनुसार अघिल्ला वर्षहरूमा पनि संक्रमण दर निरन्तर बढ्दो रहेको देखिएको छ। उनका अनुसार २०७७/७८ मा ६३९, २०७८/७९ मा १,३२२, २०७९/८० मा १,४८४ जनामा डेंगु संक्रमण देखिएको थियो। यद्यपि २०८०/८१ मा संक्रमणको संख्या घटेर ५७१ मा झरेको थियो।

TB

डेंगुको दृष्टिले वीरेन्द्रनगर, पञ्चपुरी र गुर्भाकोट नगरपालिका उच्च जोखिममा परेको कार्यालयले जनाएको छ। साउनदेखि कात्तिकसम्मको समयलाई संवेदनशील मान्दै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ।

प्रत्येक शुक्रबारलाई ‘सरसफाइ शुक्रबार’ को रूपमा मनाउँदै, विद्यालय, कार्यालय र समुदायमा लामखुट्टेको बासस्थान खोजी तथा नष्ट गर्ने अभियान सञ्चालन गरिने जनाइएको छ।

स्थानीय उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्काले सहरको व्यावसायिक क्षेत्रमा सरसफाइमा ध्यान नदिए संक्रमण नियन्त्रण सम्भव नरहेको भन्दै निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष सुशील खड्काले सञ्चारकर्मीहरूलाई पनि चेतनामूलक अभियानमा साथ दिन आग्रह गरेका छन्।

जनस्वास्थ्य सेवा कार्यालयकी प्रमुख करुणा भण्डारीका अनुसार स्थानीय तह, टोल विकास समिति, नागरिक समाज र विद्यालयहरूसँग समन्वय गरी सचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना बनाइएको छ।

प्रकाशित मिति: सोमबार, साउन ६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update