काठमाडौँ, २०८२ साउन ५- नेपाल औषधि उत्पादक संघको महाधिवेशन आगामी साउन १९ गते सोमबार राजधानी काठमाडौंमा हुने भएको छ। संघको हालै सम्पन्न कार्यसमिति बैठकले अधिवेशनको तयारी तीव्र बनाउने उद्देश्यले विभिन्न समितिहरू गठन गरेको जानकारी दिइएको छ।
महाधिवेशनको निर्वाचन प्रक्रिया सञ्चालन गर्न निवर्तमान अध्यक्ष प्रज्वल जङ्ग पाण्डेको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ। सो समितिमा पूर्व अध्यक्ष महेश गोर्खाली र वरिष्ठ अधिवक्ता रमेश प्रसाद धिताल सदस्यको रूपमा रहेका छन्।
त्यस्तै, अधिवेशन व्यवस्थापन तथा समग्र तयारीको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष प्रभात रुङ्ग्टालाई दिइएको छ। उहाँको संयोजकत्वमा गठित अधिवेशन तयारी समितिमा उपाध्यक्ष सन्तोष बराल, कार्यसमिति सदस्य शैलेस वैध र सुमित चन्द्र श्रेष्ठ सदस्यका रूपमा सहभागी छन्।
संघका अनुसार अधिवेशनमा औषधि उद्योगसम्बन्धी नीतिगत, प्राविधिक तथा व्यवसायिक पक्षमा वर्तमान अवस्था र सुधारका उपायहरूबारे विस्तृत छलफल गरिनेछ।




