
काठमाडौँ, २०८२ साउन ५- प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) अन्तर्गत सानोठिमी, भक्तपुरस्थित परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८२/०८३ का लागि डिप्लोमा तथा प्रमाणपत्र तहअन्तर्गत स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूमा पूर्ण शुल्कतर्फ भर्नाका लागि अनलाइन आवेदन खुला गरेको छ।
परीक्षा नियन्त्रण कार्यालयले इच्छुक तथा योग्यता पुगेका विद्यार्थीहरूलाई २०८२ साउन २५ गतेसम्म अनलाइन माध्यमबाट आवेदन दिन अनुरोध गरेको छ।
यस वर्षको भर्ना प्रक्रिया चिकित्सा शिक्षा आयोग, परिषद्को सम्बन्धन र पोलिटेक्निक महाशाखाबाट प्राप्त सिट विवरणको आधारमा सञ्चालन गरिने बताइएको छ। परिषद्को “डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका, २०८२” अनुसार भर्ना प्रक्रिया अघि बढाइनेछ।
विशेष कुरो के छ भने, यसपटक प्रवेश परीक्षा नलिएर विद्यार्थीको शैक्षिक योग्यता र विद्यालयको प्रकारका आधारमा प्राप्त अङ्कको योगफलका आधारमा योग्यताको आधारमा विद्यार्थीहरू छनोट गरिने छ।
विद्यार्थीहरूले परिषद्को ITMS Online प्रणाली प्रयोग गरी आवेदन दिनुपर्नेछ भने विस्तृत जानकारी र फारम भर्ने प्रक्रियाको लागि परिषद्को वेबसाइट www.ctevtexam.org.np अवलोकन गर्न सुझाव दिइएको छ।
परीक्षा नियन्त्रकको भनाइ अनुसार, परिषद्को आङ्गिक, साझेदार तथा निजी शिक्षण संस्थाहरूमा स्वीकृत कोटा र कार्यक्रमअनुसार निष्पक्ष रूपमा भर्ना प्रक्रिया सम्पन्न गरिनेछ।