Swasthya Awaj
भदौभित्र स्वास्थ्य बीमाको सम्पूर्ण भुक्तानी हुने मन्त्रीको प्रतिबद्धता, अस्पताललाई राहत हुने अपेक्षा

काठमाडौँ, २०८२ श्रावण ४- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आगामी भदौ महिनाभित्रै स्वास्थ्य बीमाको सम्पूर्ण दाबी भुक्तानी गरिने स्पष्ट पारेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री पौडेलले हालसम्म करिब ८० प्रतिशत बीमा दाबी भुक्तानी भइसकेको र बाँकी रकम पनि भदौ भित्रै भुक्तानी गरिने गरी तयारी भइरहेको बताएका छन्।

उनका अनुसार ६ अर्ब रुपैयाँमध्ये हालसम्म ५ अर्ब १० करोड रुपैयाँको दाबी भुक्तानी सम्पन्न भइसकेको छ। बाँकी रकमको भुक्तानी प्रक्रिया अघि बढाइएको जानकारी उनले दिएका छन्। मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्रालय गम्भीरताका साथ लागेको बताएका छन्। उनले भनेका छन्, “सिस्टमको कमजोरी र पूर्वाधार अभावका कारण कतिपय अस्पतालहरूबाट बीमाबापतको सेवा प्राप्त गर्न कठिनाइ भएको देखिन्छ, त्यसका लागि सुधारको काम तीव्र रूपमा अघि बढाइएको छ।”

TB

उनले बीमा बोर्ड, अस्पताल, सेवा प्रदायक, बीमित सबैका लागि स्पष्ट कार्यविधि र अनुगमन प्रणाली आवश्यक रहेकोमा जोड दिएका छन्। बीमा कार्यक्रम विस्तारसँगै हाल सेवा पुर्‍याउन अप्ठ्यारो भएको, विशेष गरी निजी अस्पतालहरूमा बीमाको सुविधा उपयोग गर्दा कतिपय समस्या देखिएको भन्दै सरकारले निजी क्षेत्रसँगको समन्वय बढाउने तयारी गरिरहेको पनि उनले बताएका छन्।

स्वास्थ्य बीमा बोर्डलाई थप प्रविधिमैत्री बनाउने, बीमित नागरिकले सहज रूपमा सेवा प्राप्त गर्न सक्ने वातावरण बनाउने र बक्यौता भुक्तानीमा ढिलाइ हुन नदिन विशेष पहल भइरहेको उनको भनाइ छ।

प्रकाशित मिति: आइतबार, साउन ५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update