नवलपुर, २०८२ साउन ४- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क उपलब्ध गराउने योजना अघि बढाइरहेको बताएका छन्। उनले सातवटै प्रदेशमा यो सेवा विस्तार गर्ने तयारीमा रहेको बताए।
गैँडाकोटमा आयोजना गरिएको मधुमेह परीक्षण तथा जनचेतना कार्यक्रममा मन्त्री पौडेलले बुढ्यौलीसँग मात्र मधुमेह जोड्ने पुरानो सोच गलत भएको र बच्चामा पनि यो रोग हुन सक्ने बताउँदै नयाँ नीति आवश्यक रहेको स्पष्ट पारे।
उनले बालबालिकामा देखिने मधुमेह र अन्य वंशानुगत रोगका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकतामा जोड दिए। साथै, डिजिटल उपकरणको प्रयोगले बालबालिकामा देखिने स्वास्थ्य समस्या पनि बढिरहेको उल्लेख गर्दै सबैले सावधानी अपनाउनुपर्ने बताए।
मन्त्री पौडेलले बालबालिका र ज्येष्ठ नागरिकको उपचार निःशुल्क बनाउन राज्यको भूमिका अपरिहार्य भएको बताए। उनले भने, “यदि राज्य स्वास्थ्य सेवा उपलब्ध गराउन सक्दैन भने त्यो लोककल्याणकारी राज्य हुन सक्दैन।”
कार्यक्रममा नुरा हेल्थ फाउन्डेसनका निर्देशक डा. सुशील कोइरालाले मधुमेहका दुई प्रकारमध्ये बालबालिकामा पर्ने ‘मधुमेह टाइप १’ को विशेषताबारे जानकारी दिए। उनले भने, “यो प्रकारमा शरीरले इन्सुलिन उत्पादन गर्न सक्दैन र जीवनभर इन्सुलिन सुइ चाहिन्छ। नेपालमा यस रोगको उपचार गराइरहेका बिरामीहरू करिब ६०० जना सूचीकृत छन्, तर वास्तविक संख्या अझ बढी हुन सक्ने अनुमान छ।”
डा. कोइरालाले किशोरावस्थामा सुरु हुने यो रोगको लागि सतर्कता आवश्यक रहेको बताए। कार्यक्रममा मधुमेह रोगबाट पीडित बालबालिकाले पनि आफ्नो अनुभव साझा गरे, जसले समयमा उपचार गर्दा सामान्य जीवन बिताउन सकिने आशा प्रदान गर्यो।
गैँडाकोटस्थित विजय विकास स्रोत केन्द्रको स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा स्थानीय अस्पताल र क्वेस्ट फर्मास्युटिकल्सले प्राविधिक सहयोग प्रदान गरेका थिए। केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले स्वास्थ्य सचेतनाको महत्व औंल्याउँदै जीवनशैली सुधार गर्नुपर्नेमा जोड दिए।




