Swasthya Awaj
किशोरी डिम्ब काण्ड: पाँच दिनमा प्रतिवेदन पेश गर्ने गरी समिति गठन

काठमाडौं, श्रावण ४- राजधानीमा सञ्चालित दुई इनभिट्रो फर्टिलाइजेसन (IVF) क्लिनिकहरूमा नाबालिग किशोरीहरूमार्फत डिम्ब संकलन गरिएको गम्भीर आरोप सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

प्रजनन उपचार केन्द्रहरू होप फर्टिलिटी एण्ड डायग्नोस्टिक प्रालि र एन्जल फर्टिलिटी क्लिनिकमाथि उठेका आरोपबारे अनुसन्धान गर्न मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको हो। मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. सरोज शर्माका अनुसार छानबिन समितिको संयोजकत्व प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ज्वाला थापालाई दिइएको छ। समितिमा डा. सुनिता लम्साल र कानुन अधिकृत सुरेश चौलागाईं पनि सदस्य रहेका छन्।

TB

सचिवस्तरीय निर्णयबाट गठन गरिएको समितिलाई पाँच दिनभित्र अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।

यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले होप फर्टिलिटीबाट पाँच जनालाई नियन्त्रणमा लिएको थियो। यद्यपि अदालतको आदेशअनुसार उनीहरूलाई हाजिर जमानीमा छोडिएको छ र अनुसन्धान अझै जारी छ। प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमा १८ वर्ष मुनिका किशोरीहरूलाई १० दिनसम्म इन्जेक्सन दिइराखी डिम्ब निकालिएको पुष्टि भएको छ। एक किशोरीले डिम्ब दाताको रूपमा १० हजारदेखि १५ हजार रुपैयाँसम्म पाएको जानकारी दिएकी छन्।

यसरी संकलन गरिएको डिम्बलाई सुरक्षित राखी प्रयोग गरिने गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। एन्जल फर्टिलिटी क्लिनिकले भने आरोपलाई खण्डन गर्दै आफूहरू निर्दोष रहेको दाबी गरेको छ।

स्वास्थ्य मन्त्रालयले भने यस्ता नाजायज क्रियाकलापमा संलग्न केन्द्रहरूलाई नछोडिने स्पष्ट संकेत दिएको छ। मन्त्रालयका अनुसार यस खालका प्रजनन क्लिनिकहरूमा भइरहेको कामकाजमा निगरानी कडाइ गरिनेछ।

प्रकाशित मिति: आइतबार, साउन ५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update