सुर्खेत, २०८२ असार ३- एक अत्यन्तै संवेदनशील अवस्थामा अस्पताल पुर्याइएका ६ वर्षीय बालकको ज्यान समयमै उपचार शुरु भएकाले जोगिएको छ। भेरीगंगा नगरपालिका–२ काल्पानीका प्रवीण घर्ती बाख्रा चराउन जंगल गएका बेला रुखबाट लडेपछि पेटको सानो आन्द्रा बाहिर निस्किएको अवस्थामा भेटिएका थिए।
घटनापछि उनको परिवारजनले हतारहतार सुर्खेतस्थित प्रदेश अस्पताल पुर्याएका थिए। सोही दिन बिदा भए पनि आकस्मिक कक्षमा कार्यरत सर्जन डा. पंकज गिरीले बालकको अवस्था अत्यन्तै गम्भीर देखेपछि तत्काल अप्रेसनको निर्णय लिए। वरिष्ठ सर्जन डा. गणेश थापाको निर्देशनमा डा. गिरीको टिमले अप्रेसन सुरु गरी करिब दुई घण्टामा सफलतापूर्वक बाहिर निस्किएको आन्द्रा भित्र राखिएको थियो।
डाक्टर गिरीका अनुसार, आन्द्रा पूर्णरूपमा बाहिर निस्किसकेको थियो र कालो भइसकेको अवस्था थियो। “त्यति छिटो सर्जरी नगरेको भए आन्द्रा कुहिन थाल्ने र बालकको ज्यान जान सक्ने सम्भावना उच्च थियो,” उनले बताए।
उक्त बालक विदाको दिन साथीहरूसँग घर नजिकको जंगलमा गएका थिए। सालको रुखबाट लडेपछि उनको पेट चिरिएको थियो र आन्द्रा बाहिर निस्किएको थियो। उनको ठुलो बुवा अमर घर्तीले घटना थाहा पाएपछि बच्चालाई तुरुन्तै उठाएर अस्पतालसम्म पुर्याएका थिए।
“बच्चाको अवस्था हेर्दा हामीले बाँच्ने आशा गरेका थिएनौं,” अमर घर्तीले भने, “तर अस्पतालले ढिला नगरी उपचार सुरु गरेपछि अहिले अवस्था सामान्य हुँदै गएको छ।”
डाक्टरहरूका अनुसार, कर्णाली प्रदेशका दुर्गम क्षेत्रबाट यस्ता जटिल अवस्थाका बिरामीहरू बारम्बार आउने गर्छन्। सर्जन डा. गिरी भन्छन्, “यस्ता गम्भीर अवस्थामा जति सक्दो चाँडो अस्पताल ल्याउन सके ज्यान जोगाउन सकिन्छ। ढिलाइ हुनासाथ अवस्था नियन्त्रणबाहिर जान सक्छ।”
उक्त सफल सर्जरीले एकपटक फेरि पनि समयमै निर्णय, तिव्र चिकित्सकीय समर्पण र अस्पतालको तत्परताले कति ठूलो अर्थ राख्छ भन्ने प्रमाणित गरेको छ।




