Swasthya Awaj
ललितपुरमा क्षयरोग स्क्रिनिङ अभियान: ५८० जनामा छाती परीक्षण, दुई जनामा क्षयरोग पुष्टि

ललितपुर, असार ३२- ललितपुर महानगरपालिका वडा नं. १३ मा गैरसरकारी संस्था जन्त्रद्वारा सञ्चालित क्षयरोग (टीबी) स्क्रिनिङ अभियान अन्तर्गत हालसालै ५८० जनाको छाती परीक्षण गरिएको छ। सो परीक्षणबाट दुई जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ। अभियानले स्थानीय समुदायमा क्षयरोग नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

असार ३१ र ३२ गते दुई दिनसम्म चलेको उक्त अभियानमा अत्याधुनिक एआई (आर्टिफिसियल इन्टेलिजेन्स) आधारित एक्स-रे मेसिन प्रयोग गरी छातीको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा शंकास्पद देखिएका व्यक्तिहरूबाट खकार सङ्कलन गरियो र ल्याब परीक्षणका लागि पठाइएको थियो। २४ जनाको खकार संकलन भएकोमा २ जनामा क्षयरोग संक्रमण पुष्टि भयो भने ११ जनामा संक्रमण नभएको पुष्टि भइसकेको छ। बाँकी ११ जनाको परिणाम आउन बाँकी रहेको जनाइएको छ।

TB

स्क्रिनिङमा संक्रमित भएका ९२ वर्षीय वृद्ध र ७६ वर्षीय रिह्याब सेन्टरका एक व्यक्तिमा औषधि वितरण गरी उपचार प्रक्रिया सुरु गरिएको छ। जन्त्रका कार्यक्रम संयोजक डीएन शर्माले भने, “समयमै पहिचान र उपचारले क्षयरोग नियन्त्रणमा ठूलो सहयोग पुग्ने भएकाले यस्तो अभियानले समुदायमा स्वास्थ्य सचेतना फैलाउने काम गरिरहेको छ।”

क्षयरोगलाई रोगको प्रारम्भिक अवस्थामा पत्ता लगाउनु अत्यन्त आवश्यक रहेको बताउँदै शर्माले समुदायमा संक्रमण फैलिन नदिन जनचेतना र नियमित परीक्षणलाई जोड दिन आग्रह गरे। यस किसिमका स्वास्थ्य कार्यक्रमहरूले छिटो उपचार सुरु गर्न र मृत्युदर घटाउन महत्वपूर्ण योगदान पुर्याउने उनका भनाइ छ।

नेपालमा क्षयरोग अझै पनि सार्वजनिक स्वास्थ्यका लागि चुनौतीको रूपमा रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हरेक वर्ष हजारौं मानिसमा क्षयरोग संक्रमण देखिन्छ र धेरैलाई उपचार नपाएमा ज्यान गुमाउनु पर्ने अवस्था आउँछ। त्यसैले समयमै रोग पत्ता लगाएर उपचार गर्ने कार्यक्रमहरूलाई प्रभावकारी बनाउनु आवश्यक छ।

यस अभियानले स्थानीय समुदायमा स्वास्थ्य सेवा पहुँच पुर्‍याउने मात्र नभई, क्षयरोगसँग लड्न नागरिकहरूको सहभागिता र सचेतनालाई समेत बृद्धि गर्ने अपेक्षा गरिएको छ। आगामी दिनमा यस्ता परीक्षण कार्यक्रमहरू निरन्तर संचालन गरी क्षयरोग नियन्त्रणमा उल्लेखनीय प्रगति हुने विश्वास व्यक्त गरिएको छ।

यो अभियानले स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन र प्रविधिको प्रयोगलाई पनि प्रवर्द्धन गरेको छ, जसले गर्दा छिटो र विश्वसनीय परीक्षण गर्न सहज भएको छ। ललितपुरका जनसमुदायमा यस्ता स्वास्थ्य गतिविधिहरूले दीर्घकालीन स्वास्थ्य सुधारमा ठूलो भूमिका खेल्ने देखिन्छ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  २२:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update