
काठमाडौं, असार ३२- चिकित्सा शिक्षा आयोगको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत सञ्चालित प्रमाणपत्र तहका चिकित्सा शिक्षा कार्यक्रमका लागि देशभरका २८५ शिक्षण संस्थामा सिट संख्या निर्धारण गरेको छ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा आयोग अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रस्तुत अनुगमन र मूल्याङ्कन प्रतिवेदनको आधारमा सिट संख्या निर्धारण गरिएको हो। निर्धारित सिटमध्ये सरकारी, निजी तथा साझेदारी मोडेलमा सञ्चालन हुने शिक्षण संस्थाहरू समावेश गरिएको छ।
बैठकमा मेडिकल कलेजहरूलाई पनि पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न कानूनी सहजीकरणको आवश्यकता विषयमा छलफल भएको थियो। साथै, चिकित्सा शिक्षाको स्नातक र स्नातकोत्तर तहका कार्यक्रमको शुल्क सम्बन्धी मापदण्ड तय गर्न गठित कार्यदलको प्रतिवेदन पनि बैठकमा प्रस्तुत गरिएको थियो।
प्रधानमन्त्री ओलीलाई कार्यदलले प्रतिवेदन बुझाएपछि सो प्रतिवेदनको अध्ययन गरी व्यवहारिक कार्यान्वयनका प्रस्ताव अघि बढाउने जिम्मा आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झालाई दिइएको छ। साथै, आयोगको आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोतबाट सञ्चालन हुने कार्यक्रम र बजेटलाई पनि बैठकले अनुमोदन गरेको छ।
बैठकमा प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा ऐन, २०५७ लाई वर्तमान सन्दर्भअनुसार परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै, आयोगको भूमिकालाई स्पष्ट सीमारेखा भित्र प्रभावकारी बनाउनेतर्फ ध्यान दिन निर्देशन दिए। साथै, शिक्षा क्षेत्रमा योजना बिहीन विस्तारभन्दा पनि गुणस्तरमा आधारित विस्तार र सहजीकरण आवश्यक रहेको धारणा व्यक्त गरे।