Swasthya Awaj
उपत्यका बाहिरका १३ अस्पताललाई स्वास्थ्य बीमाको प्रारम्भिक सेवा बिन्दुका रूपमा पुनः मान्यता

काठमाडौं, असार ३२- स्वास्थ्य बीमा बोर्डले हालै उपत्यका बाहिर रहेका १३ ठूला अस्पतालहरूलाई आगामी असोज मसान्तसम्मका लागि स्वास्थ्य बीमाको प्रारम्भिक सेवा बिन्दु (प्रथम सेवा विन्दु) को जिम्मेवारी पनि दिन लागेको छ।

यो निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनको आधारमा गरिएको हो। यसअघि बोर्डले १ साउन २०८२ देखि रेफरल अस्पतालहरूले पहिलो सेवा बिन्दुका रूपमा सेवा दिन नपाउने निर्णय गरेको थियो। तर, यसले नागरिक र स्थानीय तहहरूमा असन्तुष्टि चुलिएपछि व्यवस्था फेरबदल गरिएको हो।

TB

सूचना अधिकारी विकेश मल्लका अनुसार काठमाडौं उपत्यका बाहिरका १३ वटा ठूला अस्पतालहरूले असोज मसान्तसम्म अस्थायी रूपमा पहिलेकै रूपमा सेवा दिन पाउने छन्। साथै, सम्बन्धित स्थानीय तहहरूलाई बीमाको पहिलो सेवा बिन्दु छुट्टै अस्पतालमार्फत सञ्चालनमा ल्याउन आग्रह गरिएको छ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै, बीमाको पहुँच नजिकै नभएका क्षेत्रका अस्पतालमा सेवा यथावत् राखिएको जानकारी दिएका थिए। मन्त्री पौडेलका अनुसार बीमा सेवामा सुधार, पहुँच विस्तार र दिगोपनाका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच सहकार्य भइरहनेछ।

पुनः कायम गरिएका अस्पतालहरूको सूची:

  • कोशी अस्पताल, विराटनगर
  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
  • नारायणी अस्पताल, बीरगञ्ज
  • गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज
  • बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर
  • भरतपुर अस्पताल
  • पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा
  • जीपी कोइराला स्वासप्रश्सास केन्द्र, तनहुँ
  • सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके
  • भेरी अस्पताल, नेपालगञ्ज
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
  • डडेल्धुरा अस्पताल, डडेल्धुरा

सरकारको तर्फबाट हरेक स्थानीय तहमा बीमाको पहिलो सेवा केन्द्रको स्थापना र सेवाको स्तरवृद्धिका लागि योजना बनाइरहेको जानकारी दिइएको छ। मन्त्रालयले यसमा जनताबाट प्राप्त हुने सल्लाह, सुझावलाई प्राथमिकतामा राख्ने बताएको छ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  २२:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update