Swasthya Awaj
अब नजिकको सरकारी अस्पतालमै स्वास्थ्य बीमाको सेवा, मन्त्रीको स्पष्ट प्रतिबद्धता

काठमाडौं, असार ३२- स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा लिने पहिलो बिन्दु (प्रथम सेवा बिन्दु) हटाउने निर्णयपछि देखिएको नागरिक असहजतालाई सम्बोधन गर्न सरकारले पुनः ती स्थानमा व्यवस्था मिलाउने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमार्फत जनाउँदै नजिकै प्रथम सेवा बिन्दु नभएका ठाउँका केन्द्रीय सरकारी अस्पतालहरूमा पुनः सुविधा कायमै राखिने जानकारी दिएका हुन्।

TB

“नजिक स्वास्थ्य बीमाको सेवा नपाउँदा समस्या भएको स्थानमा केन्द्रीय अस्पतालमै सेवा लिने व्यवस्था मिलाएका छौँ,” मन्त्री पौडेलको भनाइ छ।

स्वास्थ्य बीमा बोर्डले केही दिनअघि नै सरकारी तथा निजी अस्पतालहरूमा प्रदान हुँदै आएको प्रथम सेवा बिन्दु हटाएर स्थानीय तहमार्फत सेवा दिनेसम्बन्धी निर्णय गरेको थियो। तर, सो निर्णय लागू हुँदा टाढा–टाढा बस्ती भएका स्थानका नागरिकहरू थप मर्कामा परेको गुनासो आएसँगै मन्त्रालयले फेरि वैकल्पिक व्यवस्था ल्याएको हो।

अब बोर्डले मन्त्रालयको निर्देशन अनुसार तत्काल सेवा नपुग्ने क्षेत्रका केन्द्रीय सरकारी अस्पतालहरूमा स्वास्थ्य बीमाको सेवा लिन सकिने व्यवस्था गर्नेछ।

मन्त्री पौडेलले स्थानीय तहमा कम्तीमा एकवटा प्रथम सेवा बिन्दु अनिवार्य बनाउने लक्ष्यसहित आवश्यक संरचना स्थापना र स्तरोन्नतिको कामलाई अघि बढाउने प्रतिबद्धता पनि जनाएका छन्।

“हामी प्रत्येक नागरिकलाई आफ्नै घर नजिकै स्वास्थ्य बीमाको सुविधा दिन प्रयत्नशील छौँ। प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर सेवा विस्तार र दिगोपनाका लागि कार्य गर्दैछौँ,” मन्त्रीले भनेका छन्।

उनले स्वास्थ्य बीमा सुधारका लागि सुझाव र सल्लाहप्रति सकारात्मक रहेको र नागरिकको पहुँच बढाउने नीति अपनाइएको समेत स्पष्ट पारेका छन्।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  २२:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update