Swasthya Awaj
किशोरीका डिम्बको अवैध कारोबार : ‘होप फर्टिलिटी’ क्लिनिकमा प्रहरीको छापा, पाँच जना पक्राउ

काठमाडौं, असार ३१- काठमाडौंस्थित एक फर्टिलिटी क्लिनिकले किशोरीहरूका डिम्ब (Egg) संकलन गरी अवैध रूपमा व्यापार गर्दै आएको खुलासा भएको छ । प्रहरीको विशेष अनुगमन र अनुसन्धानपछि 'होप फर्टिलिटी' नामक सो क्लिनिकमा छापा मारिएको हो । छापा मार्ने क्रममा क्लिनिकका सञ्चालकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले लामो समयदेखि निगरानीमा राख्दै आएको सो क्लिनिकमा शङ्कास्पद गतिविधि फेला परेपछि छापा मारिएको हो । प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा डिम्ब संकलनको प्रक्रिया वैधानिक मापदण्ड विपरीत, विशेषगरी किशोरीहरूलाई प्रयोग गर्दै हुँदै आएको पत्ता लगाएको छ ।

प्रहरी स्रोतका अनुसार, १८ वर्षमुनिका किशोरीहरूलाई विभिन्न प्रलोभन देखाई डिम्ब निकाल्ने कार्य भइरहेको आशंका गरिएको छ । “किशोरीहरूलाई आर्थिक वा अन्य लोभ देखाएर डिम्ब निकाल्ने काम भइरहेको सूचनाको आधारमा हामीले छापा मारेका हौं,” प्रहरी स्रोतले भन्यो, “डिम्ब संकलनको लागि कुनै वैज्ञानिक वा चिकित्सकीय मापदण्ड नअपनाइएको देखिएको छ ।”

TB

पक्राउ पर्नेमा क्लिनिकका सञ्चालक, मेडिकल सहयोगी, र केही बिचौलिया रहेको जनाइएको छ । उनीहरू विरुद्ध मानव शरीरको अवयवको अवैध कारोबार, बालमैत्री कानुन उल्लंघन तथा मेडिकल एथिक्सको गम्भीर उल्लंघनसम्बन्धी आरोपमा अनुसन्धान सुरु गरिएको छ ।

नैतिकता र कानुनी सीमाको उल्लंघन

मानव अंग तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित यस्ता संवेदनशील विषयमा नेपालको कानुनले स्पष्ट मापदण्ड निर्धारण गरेको छ । नेपालमा अंग प्रत्यारोपणसम्बन्धी ऐन तथा मानवीय सहमति र चिकित्सा नीतिको कडाईका साथ पालना गर्नुपर्ने कानुनी प्रावधान छन् । तर, डिम्ब संकलनका नाममा किशोरीहरूको स्वास्थ्य र मानव अधिकारलाई खतरामा पार्ने काम हुनु गम्भीर अपराध भएको जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

जनस्वास्थ्य विज्ञ डा. शारदा भण्डारी भन्छिन्, “डिम्ब संकलन आफैं संवेदनशील प्रक्रिया हो, त्यो पनि किशोरीहरूमाथि प्रयोग गर्नु अत्यन्त आपत्तिजनक हो । यसले मानसिक, शारीरिक र भावनात्मक असर पुर्‍याउँछ ।”

यता, नेपाल मेडिकल काउन्सिलका पदाधिकारीहरूले पनि यस घटनालाई गम्भीर चिकित्सा अनियमितता र एथिक्सको उल्लंघनको रूपमा हेरेका छन् । उनीहरूले स्वास्थ्य मन्त्रालय, काउन्सिल तथा प्रहरी प्रशासनबीच समन्वय गरेर दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो अवस्थाबारे थप अनुसन्धान

हाल प्रहरीले क्लिनिकका कागजात, सीसीटीभी फुटेज, चिकित्सा उपकरण तथा सेवाग्राहीहरूसँगको विवरण संकलन गरिरहेको छ । सो क्लिनिकसँग सम्बन्धित अन्य व्यक्तिहरूको खोजी पनि तीव्र पारिएको जनाइएको छ । पक्राउ परेका व्यक्तिहरूलाई महानगरीय प्रहरी परिसर, काठमाडौंमा राखेर आवश्यक बयान लिने र अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीले पीडित किशोरीहरूलाई आवश्यक स्वास्थ्य सहायता तथा मनोसामाजिक परामर्शको व्यवस्था गर्ने तयारी गरिरहेको बताएको छ ।

यस घटनाले काठमाडौं उपत्यकामा बढ्दो संख्यामा खुलेका निजी फर्टिलिटी क्लिनिकहरूमाथि पनि निगरानी गर्नुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको छ ।

किशोरीहरू जस्तो संवेदनशील उमेर समूहको प्रयोग गरी डिम्ब संकलन तथा विक्रीजस्तो गतिविधि हुनु गम्भीर कानुनी तथा नैतिक अपराध हो । सम्बन्धित निकायहरूले यस्ता क्रियाकलापमाथि कठोर कदम चाल्नुपर्ने माग तीव्र बनेको छ । सरकार, सुरक्षा निकाय तथा स्वास्थ्य क्षेत्रका नियमनकारी निकायहरूले अब यस्ता क्लिनिकहरूको नियमन, अनुुगमन र आवश्यक परेमा कारबाहीलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  २२:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update