Swasthya Awaj
डेंगु अब हिमालसम्म, सरकारको बेवास्ताले भयावह स्थिति निम्तने खतरा

काठमाडौं, असार ३९ -एक समय तराईका केही सीमित जिल्लामा मात्रै देखिने डेंगु संक्रमण अहिले नेपालको हिमाली भेगसम्म फैलिन थालेको छ । तापक्रममा भइरहेको क्रमिक वृद्धिसँगै डेंगु फैलाउने एडिस जातको लामखुट्टेले पहाड, पहाडी सहर हुँदै हिमाली जिल्लासम्म आफ्नो पहुँच बढाएको देखिन्छ । तर, डेंगुको यो फैलावट गम्भीर स्तरमा पुगे पनि सरकारले यसप्रति देखाएको उदासीनता आलोचनाको केन्द्रमा छ ।

जनस्वास्थ्य विज्ञहरू, स्थानीय प्रशासन र स्वयंसेवी संस्थाहरूले समयमै रोकथाम र सचेतना अभियान नचालिए स्थिति भयावह बन्ने स्पष्ट संकेत गरिरहेका छन् । डेंगु अहिले देशभर महामारीको सम्भावनासहित फैलिन थालेको छ, तर सरकारको तर्फबाट न त राष्ट्रिय अभियान घोषणा भएको छ, न त विशेष स्वास्थ्य पूर्वाधार तथा स्रोतसाधन परिचालन गरिएको छ ।

डेंगुको फैलावट हिमालसम्म

सामान्यतः चिसो वातावरणमा डेंगुको प्रकोप हुने सम्भावना कम मानिन्छ । तर हालका वर्षहरूमा जुम्ला, डोल्पा, ताप्लेजुङ, संखुवासभा लगायत हिमाली जिल्लामा समेत डेंगुका बिरामी फेला पर्न थालेका छन् । एडिस एजिप्टाई जातको लामखुट्टेले दिनको समय टोकिने भएकाले अझै सतर्कता आवश्यक भएको विज्ञहरू बताउँछन् ।

TB

यसअघि डेंगु मुख्यतः झापा, मोरङ, सप्तरी, सिरहा, काठमाडौं, ललितपुर, चितवन, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत तराई र सहर केन्द्रित जिल्लामा बढी देखिन्थ्यो । तर हालैको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार देशका अधिकांश जिल्लामा डेंगुको संक्रमण फैलिसकेको छ ।

वर्षेनी दोहोरिने समस्या, सरकारको मौनता

डेंगुको संक्रमण २०६१ सालतिर नेपालमा पहिलोपटक देखिएको भए पनि पछिल्ला ७–८ वर्षमा यसको संक्रमण दर ह्वात्तै बढेको छ । २०७९ सालमा मात्र झण्डै ५५ हजार भन्दा बढी संक्रमित र 88 जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । त्यसपछि २०८० सालमा केही कमी आए पनि यसवर्ष पुनः तीव्र दरमा संक्रमण फैलन थालेको छ ।

तर, यति गम्भीर संकटका बाबजुद सरकार मौनजस्तै छ । समयमै लामखुट्टे नियन्त्रण अभियान नचलाउने, डेंगु परीक्षण तथा उपचार निःशुल्क नबनाउने, अस्पतालहरूमा पूर्वतयारी नगर्ने सरकारी निष्क्रियताले जोखिम बढाएको छ । खासगरी ग्रामिण भेगमा डेंगु परीक्षण गर्ने किटको अभाव, पर्याप्त स्वास्थ्यकर्मीको अभाव, र जनचेतनाको कमी प्रमुख चुनौती बनेको छ ।

"विशेष शाखा आवश्यक छ"- विज्ञहरूको सुझाव

जनस्वास्थ्य विज्ञहरू र नागरिक समाजका अगुवाहरूले डेंगु नियन्त्रणका लागि अब ढिलासुस्ती सह्य नहुने स्पष्ट पारेका छन् । उनीहरूका अनुसार, संघीय सरकारले प्रत्येक जिल्लामा डेंगु नियन्त्रण तथा रोग अनुगमनका लागि छुट्टै "डेंगु नियन्त्रण शाखा" स्थापना गर्नुपर्छ ।

यस्ता शाखाले स्थानीय तहहरूसँग समन्वय गर्दै जोखिम मूल्याङ्कन, लामखुट्टेको वासस्थान नष्ट गर्ने अभियान, जनचेतना अभिवृद्धि, किट आपूर्ति र अस्पताल व्यवस्थापनमा तत्काल क्रियाशील हुन सक्छन् ।

जनस्वास्थ्य विशेषज्ञ डा. प्रेम बस्नेत भन्छन्, "सस्तो र सजिलो उपायबाटै डेंगु नियन्त्रण गर्न सकिन्छ । तर सरकारले यसलाई प्राथमिकतामा नलिएर जनताको ज्यानलाई जोखिममा पारिरहेको छ ।"

ज्यान गुमाइरहेका छन् नागरिक

डेंगु नियन्त्रणको अभावमा वर्षेनी हजारौं नागरिक गम्भीर अवस्थामा पुगिरहेका छन् । कयौंले अकालमा ज्यान गुमाइरहेका छन् । झन् ग्रामीण भेगमा समयमै उपचार नपाउँदा अवस्था झन् जटिल देखिएको छ । सामान्य ज्वरोबाट सुरु हुने डेंगु, प्लेटलेट संख्या घट्दै गएर आन्तरिक रक्तस्राव र अंग फेलियरसम्म पुर्याउन सक्छ ।

विशेषज्ञहरू भन्छन्, "डेंगुका विरामीलाई समयमै चिनेर अस्पताल पुर्‍याउन सकियो भने ज्यान जोगाउन सकिन्छ । तर, सरकारी लापरवाहीका कारण हजारौं मानिस जोखिममा छन् ।"

सरकारको लचकता अभाव

सरकारका विभिन्न निकायहरूबीच समन्वय अभाव, स्थानीय तहमा स्रोतको अभाव, र केन्द्रमा रणनीतिक सोचको कमीले डेंगु नियन्त्रण कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । कतिपय स्थानीय तहमा त अझै पनि डेंगुबारे जनतालाई जानकारी दिन सूचना, पोस्टर वा स्वयंसेवकसमेत परिचालन गरिएको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ताले औपचारिक प्रतिक्रिया दिन नमाने पनि स्वास्थ्य बीमा बोर्ड र रोग नियन्त्रण महाशाखा स्रोतले भने "डेंगु नियन्त्रणका लागि तयारी भइरहेको" मात्रै भन्ने प्रतिक्रिया दिएका छन् ।

समाधान के ?

  • सबै जिल्लामा डेंगु नियन्त्रण शाखा स्थापना गरिनु पर्ने
  • हरेक पालिकामा लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरिनु पर्ने
  • अस्पतालमा डेंगु वार्ड, किट, प्लेटलेट, रक्त जाँच सुविधा उपलब्ध गरिनु पर्ने
  • विद्यालय, सार्वजनिक स्थान र सञ्चारमाध्यममार्फत डेंगुबारे जनचेतना अभिवृद्धि गरिनु पर्ने
  • घरघरमा पानी जम्ने स्थान सफा राख्न, ट्यांकी, फूलदानी जस्ता वस्तुमा लामखुट्टे नबसे भन्ने कुरामा जनसंलग्नता बढाइनु पर्ने

अब पनि सरकारले डेंगुलाई हल्का रूपमा लिएको खण्डमा यसले महामारीको रूप लिन सक्छ । यथाशिघ्र नियन्त्रणका उपायहरू, सम्पूर्ण जिल्लामा पूर्वतयारी, अस्पतालमा सेवा विस्तार र नागरिकस्तरको सचेतनाबिना डेंगु नियन्त्रण असम्भवप्रायः छ । अब पनि चुप लागेर बस्ने होइन, सक्रिय भएर काम गर्ने बेला आएको छ । नत्र डेंगुले फेरि हजारौंको ज्यान लिन्छ र स्वास्थ्य प्रणालीलाई नै घुँडामा झार्नेछ ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update