Swasthya Awaj
वीर लगायतका ठूला अस्पतालबाट दुई हजारभन्दा बढी बीमित परिवारको ‘प्रथम सेवा विन्दु’ हटाइयो

काठमाडौँ, असार २९- स्वास्थ्य बीमा बोर्डले वीर अस्पतालसहित देशभरका ठूला र रेफरल अस्पतालहरूबाट ‘प्रथम सेवा विन्दु’ हटाउने निर्णय कार्यान्वयनमा ल्याएको छ । बोर्डको नयाँ व्यवस्थापनले रेफरल अस्पतालहरूबाट सामान्य उपचार सुरु भएसँगै जटिल रोगका बिरामीले सेवा पाउन सक्ने अवसर गुम्न थालेको भन्दै यस्तो निर्णय लिएको हो ।

वीर अस्पतालमा मात्र दुई हजारभन्दा बढी बीमित परिवारले प्रथम सेवा विन्दु तोकेका थिए । एक परिवारमा पाँचजनासम्म सदस्य रहेको अनुमान गर्दा करिब १० हजार व्यक्ति यस सुविधा प्रयोग गर्दै आएका थिए । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाका अनुसार, यीमध्ये धेरैजसो वीर अस्पतालका कर्मचारी आफन्त थिए । उनले भने, ‘अब रेफरल अस्पतालबाट सामान्य उपचार गर्न पाइँदैन । यसले जटिल बिरामीको भीड व्यवस्थापनमा सहजता ल्याउने विश्वास छ ।’

TB

वीर अस्पतालसँगै काभ्रेको धुलिखेल अस्पताल, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको गण्डकी मेडिकल कलेज, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तनहुँको जीपी कोइराला स्वासप्रश्वास केन्द्रमा पनि बीमितको प्रथम सेवा विन्दु तोकिएको थियो । ती अस्पतालहरूमा पनि बोर्डले प्रथम सेवा विन्दु हटाउने प्रक्रिया सुरु गरिसकेको छ ।

बोर्डको यो निर्णयसँगै धरान र दाङमा विरोध प्रदर्शनसमेत सुरु भएका छन् । धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा लिँदै आएका स्थानीयवासीले बोर्डको निर्णयविरुद्ध विरोध जनाएका हुन् । यस्तै दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानअगाडि पनि प्रदर्शन भएको छ ।

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष थापा भन्छन्, ‘साधारण उपचारका लागि प्रथम सेवा विन्दु छुट्टै हुने हो । रेफरल सेन्टर भनेको विशिष्टीकृत सेवा दिने ठाउँ हो । हामी यही विभाजन स्पष्ट गर्दैछौं । सेवाको स्पष्टता र प्रभावकारिता बढाउन यो आवश्यक थियो । विरोध भए पनि हामी यो निर्णयबाट पछि हट्ने छैनौं ।’

बोर्डले हालै ‘प्रथम सेवा विन्दु’ र ‘रेफरल अस्पताल’ को छुट्टै सूचीसमेत सार्वजनिक गरेको छ । बीमित सेवाको सुधार र प्रभावकारी कार्यान्वयनका लागि अब सेवा विन्दु र रेफरल सेन्टरबीचको कार्यविभाजन स्पष्ट रूपमा लागू गरिने बोर्डले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १०:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update