Swasthya Awaj
प्रधानमन्त्री ओलीद्वारा झापाको भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल उद्घाटन

झापा, असार २८- प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ मा निर्माण सम्पन्न भएको भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको औपचारिक रूपमा उद्घाटन गरेका छन्। नेपालकै पहिलो महिला प्रधानपञ्च स्व. भागीरथा न्यौपानेको नाममा स्थापना गरिएको यस अस्पताल १५ कठ्ठा जग्गामा निर्माण गरिएको हो। अस्पतालको निर्माण लागत करिब ६ करोड ५० लाख रुपैयाँ रहेको छ। अस्पताल निर्माणका लागि न्यौपाने परिवारले जग्गा दान गरेका थिए।

उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले स्व. भागीरथाको योगदानलाई प्रेरणादायी उल्लेख गर्दै समाजसेवामा सबैले हातेमालो गर्नुपर्ने बताए। उनले भने, “मर्दा मानिस केही लैजान्न, तर काम र योगदानले सम्झाइरहन्छ। भागीरथाजस्ता समाजसेवीहरूबाट सबैले प्रेरणा लिनुपर्छ।” हाल अस्पतालमा एक जना एमडी, चार जना एमबीबीएस र एक जना रेडियोलोजिस्टसहित ६ जना चिकित्सक कार्यरत छन्। तीमध्ये तीन जना एमबीबीएस चिकित्सक पालिकाले आफ्नै स्रोतबाट नियुक्त गरेका हुन्।

TB

अस्पतालमा बहिरङ्ग तथा अन्तरङ्ग सेवा, सुत्केरी सेवा, बाल तथा महिला स्वास्थ्य, सामान्य शल्यक्रिया, दन्त सेवा, आँखा परीक्षण, ल्याब, एक्सरे, मुटुको इको, र फार्मेसी सेवा उपलब्ध छन्। अस्पताल प्रशासनका अनुसार आगामी साउन १ गतेदेखि २४ घण्टा उपचार सेवा र बर्थिङ सेन्टर सञ्चालनमा ल्याइनेछ।

बुद्धशान्ति गाउँपालिकाले असार २६ गतेबाट अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८२ लागू गरिसकेको छ। उक्त कार्यविधिअनुसार पालिका अध्यक्ष पदेन अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था छ। साथै, अस्पताल सञ्चालनका लागि छुट्टै कोषको पनि व्यवस्था गरिएको छ।

झापा र इलामको सिमानामा रहेको यो अस्पताल बुद्धशान्तिका ५३ हजार जनतालाई लक्षित गरी सेवा प्रदान गर्नेछ भने दक्षिणी इलामबाट आउने सेवाग्राहीले समेत यहाँबाट गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास गरिएको छ।

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  २२:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update