Swasthya Awaj
पोखरामा ‘घरघरमा स्वास्थ्य सेवा’ कार्यक्रममार्फत ११ हजारभन्दा बढीलाई निःशुल्क परीक्षण

पोखरा, असार २७- पोखरा महानगरपालिकाले सञ्चालन गरेको ‘घरघरमा स्वास्थ्य कार्यक्रम’ले हालसम्म ११ हजार ८६२ जनालाई निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेको छ। महानगरका १० वटाभन्दा बढी वडामा सञ्चालन गरिएको सो अभियानबाट विशेषगरी ज्येष्ठ नागरिक, अशक्त, र विपन्न समुदायका व्यक्तिहरू लाभान्वित भएका छन्।

स्वास्थ्य महाशाखाको आयोजनामा र सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको समन्वयमा सञ्चालित कार्यक्रम यही असार १ गतेदेखि सिमलचौरबाट सुरु गरिएको थियो। स्वास्थ्य टोलीले वडा नं. १, ८, १०, १३, १४, १७, १८, १९, २० र २५ मा प्रत्यक्ष टोलबस्तीमै पुगेर सेवा प्रदान गरेको हो।

TB

कार्यक्रमका सहजकर्ता हरिलाल आचार्यका अनुसार, अभियानअन्तर्गत उच्च रक्तचाप, मधुमेह, स्वासप्रस्वास, स्तन तथा पाठेघरसम्बन्धी समस्या भएका बिरामीहरू पहिचान गरिएको छ। परीक्षण गरिएकामध्ये करिब ६० प्रतिशतमा उच्च रक्तचाप देखा परेको उनले जानकारी दिए।

यस्तै, महिलाहरूलाई प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, सरुवा रोग र दीर्घ रोगसम्बन्धी विषयमा पनि परामर्श दिइएको छ। स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख कुश्मराज सुवेदीका अनुसार, घुम्ती स्वास्थ्य सेवा अभियानको उद्देश्य घरमै सेवा पुर्‍याउँदै जोखिममा रहेका व्यक्तिहरूको शीघ्र पहिचान गर्नु हो।

वडा नं. ८ का १७ वटा टोलमा मात्रै १,२०० जनाले स्वास्थ्य सेवा लिएको रेकर्ड छ। महानगरले आगामी आर्थिक वर्षका लागि समेत यो अभियानलाई निरन्तरता दिने तयारी गर्दै बजेट विनियोजन गरिसकेको जनाइएको छ। सहरी क्षेत्रमा स्वास्थ्य सेवा पहुँचमा समस्या हुने वर्गलाई लक्षित गरी शुरु गरिएको यो कार्यक्रमले घरमै सेवा दिएर समयमै रोग पहिचान र रोकथामको सम्भावना बढाएको स्थानीयहरूको भनाइ छ।

पोखरा महानगरको घरदैलो स्वास्थ्य कार्यक्रमले नसर्ने रोगहरूको समयमै पहिचान, जोखिममा रहेका समूहको स्वास्थ्य सुधार र जनचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान दिएको देखिन्छ। यस्ता कार्यक्रमलाई दिगो रूपमा विस्तार गर्दा समुदायस्तरमा रोग रोकथाम र स्वास्थ्य सुधारमा थप टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update