Swasthya Awaj
देशभर डेंगु संक्रमणको जोखिम बढ्दो, स्वास्थ्य महाशाखाको सतर्कता अपिल

काठमाडौँ, असार २७- गर्मी र वर्षासँगै देशभर डेंगु संक्रमणको जोखिम तीव्ररूपमा बढ्न थालेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले आगामी दिनहरूमा संक्रमणको दर झनै बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ।

महाशाखाका अनुसार हालसम्म ७३ जिल्लामा डेंगुका बिरामी भेटिइसकेका छन्। २०७९ सालमा रेकर्ड गरिएको भयावह प्रकोपपछि २०८१ सालमा पुनः ठूलो संख्यामा संक्रमण देखिन सक्ने संकेत देखिएको छ। इडिसिडीले मुलुकभर यस वर्ष करिब ६० हजार जनामा डेंगुको संक्रमण हुन सक्ने अनुमान गरेको छ।

स्वास्थ्य मन्त्रालयका डेंगु फोकल पर्सन डा. गोकर्ण दाहालका अनुसार, “हालसम्म १,६७३ जनामा डेंगु पुष्टि भइसकेको छ। मौसम र लामखुट्टेको जीवनचक्र हेर्दा आगामी हप्ता र महिना अत्यन्त संवेदनशील हुने देखिएको छ।”

TB

उच्च जोखिममा छन् बालबालिका र सहर क्षेत्र

विशेषगरी विद्यालय जाने बालबालिका, शहरी बस्तीहरू, घर वरपर पानी जम्ने क्षेत्र, र अस्पतालहरू बढी जोखिममा रहेको महाशाखाको भनाइ छ। लामखुट्टे दिनको समयमा टोक्ने हुँदा विद्यालय समयमा सुरक्षा सतर्कता बढाउन अनुरोध गरिएको छ।

लामखुट्टेको जीवनचक्र र संक्रमण

एडिस एजिप्टाई जातको पोथी लामखुट्टे संक्रमित व्यक्तिको रगत चुसेपछि अर्को व्यक्तिलाई टोकेर डेंगु सार्ने गर्छ। यस्ता लामखुट्टेले ५०० देखि १,००० वटा अण्डा दिन सक्छन्, जुन पानी जमेको ठाउँमा महिनौँसम्म जीवित रहन सक्छन्।

लामखुट्टेबाट सर्ने डेंगु भाइरसका चार प्रकार (DEN-1, 2, 3, 4) रहेका छन्। एकपटक संक्रमण भएपनि पुनः अर्को प्रकारको भाइरसबाट संक्रमण हुने सम्भावना रहन्छ, जसले गम्भीर अवस्था निम्त्याउन सक्छ।

लक्षण र सावधानी

डेंगुको लक्षणमा उच्च ज्वरो, टाउको दुखाइ, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, आँखामाथि दुखाइ, शरीरमा र्याश देखिनेजस्ता संकेतहरू देखिन्छन्। केही अवस्थामा ज्यान नै जाने जोखिम पनि रहन्छ।

डा. दाहालका अनुसार, “यदि समयमै उपचार गरिएमा डेंगुबाट ज्यान जोगाउन सकिन्छ। तर लापरवाही गर्दा अवस्था गम्भीर हुन सक्छ।”

रोकथामका उपायहरू

महाशाखाले निम्न उपाय अपनाउन सबैलाई अपिल गरेको छ:

  • घर वरपर पानी जम्न नदिनु।
  • गमला, टायर, बोतल जस्ता सामग्री हटाउनु वा नियमित खाली गर्नु।
  • पानीका ट्याङ्की ढाकेर राख्नु।
  • शरीर छोपिने कपडा लगाउनु र लामखुट्टे भगाउने मलम प्रयोग गर्नु।
  • दिनको समयमा झुलको प्रयोग गर्नु।

स्थानीय तह र नागरिकको जिम्मेवारी

स्वास्थ्य महाशाखाले संघ, प्रदेश र स्थानीय तहलाई डेंगु नियन्त्रणका लागि संयुक्त रूपमा काम गर्न निर्देशन दिएको छ। लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानमा समुदायको सक्रिय सहभागिता अपरिहार्य भएको विज्ञहरूको सुझाव छ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update